सूचनाको शक्ति - The Power Of Information

        

सेवाग्राही झुक्याउँदै बैंक, भरपर्दो छैनन् २४ घण्टे एटिएम सुविधा

बाँके । बैंक तथा वित्तिय संस्थाले चौविसै घण्टा एटिएम सेवा दिने भनि सम्बन्धित निकायबाट अनुमती लिएका हुन्छन् । नियम अनुसार बैंकका काउण्टर चौविसै घण्टा खुल्नुपर्ने हो । एटिएम काउण्टरको माथि पनि चौविसै घण्टा एटिएम सेवा भनेर लेखिएको हुन्छ । तर, यहाँका अधिकांस बैंकले एटिएम सेवा १२ घण्टा पनि दिन सकेका छैनन् । चौविसै घण्टा एटिएम सुविधा दिने कानुनीरुपमै प्रतिवद्धता जनाएका बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई झुक्याउने प्रवृत्ति बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको यस्तो मनपरीले गर्दा सेवाग्राही हैरान भएका छन् । एटिएम भनेको बैंक समयभन्दा बाहेकको समयमा जरुरी पर्ने कुरा हो, तर बैंकको समयमा एटिएम खुल्ने र बैंक समयपछि बन्द हुनाले ग्राहकहरु मर्कामा परेका छन् । चाहिएको बेला एटिएमबाट पैसा निकाल्न नपाएपछि धेरैले औषधी उपचार तथा अन्य आकस्मिक काम गराउन पाएका छैनन् । ‘एटिएम सेवा आकस्मिक कामको लागि पैसा निकाल्न आवश्यक पर्ने हो, तर नेपालगन्जका एटिएम काउण्टर संसाझै बन्द भइहाल्छन्,’ बेलासपुरका राजेन्द्र अधिकारीले भने ‘जुन उद्देश्य लिएर एटिएम काउण्टर खोलिएको हो, त्यसरी जनतालाई सेवा दिन सकेका छैनन् ।
अधिकांस बैंकले बिहान ७ बजेदेखि बेलुका ७–८ बजेसम्म एटिएम काउण्टर खोल्ने गरेका छन् । कतिपय सेवाग्राहीहरु रातको समयमा आकस्मिकरुपमा पैसा निकाल्न एटिएम काउण्टरमा पुग्दा सबै बन्द हुन्छन् । पछिल्लो समयमा नेपालगन्जमा बैक तथा वित्तीय संस्था खुल्ने क्रम बढ्दै गएको छ । पछिल्लो समयमा सरकारी र निजी क्षेत्रका बैंकिङ संस्थाले नेपालगन्जमा आफ्नो कार्यालय स्थापना गरेका छन् । राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरका गरी करिव तीन दर्जन बैंक सञ्चालनमा छन् । यि मध्ये अधिकांसले एटिएम सेवाको लागि छुट्टै काउण्टर पनि चलाएका छन् ।
बैंकिङ सेवाको पहुँचमा सेवाग्राही बढ्दै गएपनि एटिएम सुविधा भरपर्दो छैन । कतिपय एटिएम त बिग्रिएकै अवस्थामा छन् । ‘एकपछि अर्को गरी खुलेका बैंकले सेवाग्राहीलाई तान्न अनेक प्रलोभन बाँड्छन्, एटिएम सेवा चौविसै घण्टा दिने प्रतिवद्धता पनि जनाउँछन्, तर आवश्यक परेको बेलामा एटिएम सेवा दिंदैनन्,’ भृकुटीनगरका सेवाग्राही गणेश सुवेदीले भने ‘बैंकहरुले जनतालाई झुक्याउने काम गरिरहेका छन् ।’ बैंकले सेवाग्राहीलाई झुक्याउने काम गरिरहेको गुनासो एकातिर छ भने अर्कोतिर बैंकहरुले आफ्नै बाध्यता सुनाउँछन् । असुरक्षाका कारण रातको समयमा एटिएम काउण्टर खोल्न नसकिएको अधिकांस बैंकर्स बताउँछन् ।
नेपालगन्जका एटिएम काउण्टर पहिले चौविसै घण्टा खुल्थे । मधेस र थरुहट आन्दोलनका क्रममा असुरक्षा महसुस गरेका बैंकले त्यतिबेला रातको समयमा एटिएम सेवा दिन छाडेका थिए । त्यसयता बैंकले एटिएम सेवा दिन सकेका छैनन् । ‘असुरक्षाकै कारण रातमा एटिएम सेवा दिन नसकिएको हो,’ एक बैंकका शाखा प्रबन्धकले भने ‘हामीले जनताको पैसामाथि खेलवाड गर्नु पनि त भएन नि ।’ स्थानीय प्रहरी, प्रशासनले एटिएम काउण्टरको सुरक्षाको पुर्ण ज्ञारेन्टी लिएमा रातमा सेवा दिन कुनै कठिनाई नभएको उनले सुनाए ।
यता प्रहरी प्रशासनले एटिएम काउण्टरलाई सुरक्षा दिने विषयमा तयार रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अरुण पौडेलले बैंकहरुलाई रातमा पनि एटिएम काउण्टरको सुरक्षा आवश्यक परेमा आफुहरु उपलब्ध गराउन तयार रहेको बताए । ‘हाम्रो काम शान्ति सुरक्षा प्रदान गर्नु नै हो, यसको लागि हामी तयार छौं,’ पौडेलले भने ‘उहाँहरुले आफ्नो एटिएम काउण्टरमा सिसि टीभी क्यामेरा जडान गर्नुपर्यो, समन्वय र सल्लाह गरेर शान्ति सुरक्षा प्रदान गर्न सकिन्छ ।’
बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंक नेपालगन्जका सम्वद्ध अधिकारीहरु पनि बैंकहरुले रातमा एटिएम सेवा सुरु गर्नु सेवाग्राहीका लागि फाईदाजनक कुरा भएको बताउँदै शान्ति, सुरक्षा प्रमुख कारण भएको तर्क गर्छन् । राष्ट्र बैक नेपालगन्जका प्रमुख बिमलराज खनालले असुरक्षाको कारणले गर्दा नै बैंकहरुले रातको समयमा एटिएम सेवा दिन नसकेको बताए । ‘जनताको पैसा सुरक्षित हिसाबले राख्नुप¥यो, जनतालाई सेवा पनि दिनुपर्यो,’ उनले भने ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार ०७:५९