सूचनाको शक्ति - The Power Of Information

        

खजुरा गाउँपालिकाको गाउँसभा स्थगीत

बाँके । खजुरा गाउँपालिकाको मंगलबारदेखि शुरू भएको गाउँसभा आगामी फगुन १ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । उद्घाटनपछिको सत्रमा गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले पालिकाको केन्द्र निर्धारणका बिषयमा प्रस्ताव राखे लगत्तै उक्तसभा स्थगीत भएको हो ।
चौथो गाउँसभामा गाउँपालिका प्रमुख कक्षपतिले गाउँपालिकाको केन्द्र निर्धारणको विषय छलफलका लागि सभा समक्ष राखेपछि उक्त बिषयले सभामा प्रवेश भने पाएको छ । केन्द्र निर्धारणको विषयमा सभासदहरूले आफ्नो धारणा आएपछि व्यापक बहसका लागि भन्दै सभा स्थगीत गरिएको सहभागी एक सदस्य बताउँछन् ।
केन्द्रका लागि सभासदहरूले तीन खाले प्रस्ताव अघि सारेका छन् । गाउँपालिकाको केन्द्र निर्धारणको विषय पेचिलो बनेको छ । केन्द्रका लागि वडा नंंम्बर सातका वडाध्यक्ष अतिउल्ला खाँको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलले आगामी फागुन आठ गतेसम्म अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।
गाउँसभामा बोल्दै वडा नं. दुईका वडाध्यक्ष देविलाल शर्मा, वडासदस्य टोपबहादुर ओली, वडा नं. १ का वडासदस्य देवप्रसाद बुढा, रामबहादुर शाहीको एक मत सन्तकुटीमा गाउँपालिकाको केन्द्र तोक्नु पर्नेमा देखिएको छ । वडा नं. सातका वडाध्यक्ष अतिउल्ला खाँले संवेदनशील विषय भएकाले केही दिनको समय लिएर सर्वसम्मत निर्णय गरिनुपर्ने बताए ।
त्यस्तै कार्यपालिका सदस्य भागीरथ सुनारले राजनीतिक दलले विगतमा गरेको सहमति अथवा पुरानै ठाउँमा हुनु पर्ने धारणा राखेका छन । वडा नं. आठका वडाध्यक्ष फिरोज खाँ, वडा नं. तीनका सदस्य सरोज देवकोटा, डिल्लीप्रसाद आचार्यले गाउँपालिकाको केन्द्र ‘क’ गाउँमा राख्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
गाउँसभाले खजुरा गाउँपालिकाको अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता संचालन निर्दे्शिका २०७५ र अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप निर्दे्शिका २०७५ भने संसोधनसहित सर्वसम्मतले पारित गरेको छ । सभामा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले चालू आर्थिक वर्षको हालसम्म भएका आर्थिक तथा भौत्तिक प्रगति सभामा प्रस्तुत गरेका थिए ।
यसैबीच खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति गाउँपालिका राष्ट्रिय महासंघको सचिवालय सदस्यमा चयन भएका छन् । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य कक्षपतिलाई काठमाडौंमा सम्पन्न महासंघको बैठकले सचिवालय सदस्य चयन गरेको हो ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार १४:११