सूचनाको शक्ति - The Power Of Information

        

एनआइसी एसियाको खुद नाफा साढे एक अर्ब

बाँके । एनआइसी एसिया बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म एक अर्ब ५१ करोड खुद नाफा आर्जन गरेको छ । दुई वर्षअघि यस अवधिमा बैंकले ७२ करोड खुद नाफा कमाएको थियो ।बढेको व्यवसायअनुरुप अझै नाफा बढ्न नसकेको देखिएको बै.कले बताएको छ ।
तर, क्रमिक रूपमा नाफा पनि उच्च दरले बढ्ने संकेत बैंकको वित्तीय विवरणले देखाएको छ । ग्रामीण क्षेत्रमा रहेका कतिपय शाखा नाफामा जान नसकेकाले केही समस्या रहेको बै.क स्रोतले बताएको छ । चुक्ता पुँजी ८ अर्ब ८३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा चार अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
व्यवसाय विस्तार गर्दै जाँदा निश्क्रिय कर्जा भने घटाउँदै लगेको बैंकले बताएको छ । दुई वर्षमा बैंकको निश्क्रिय कर्जा ० दशमलव ७२ प्रतिशतबाट घटेर ० दशमलव ३० मा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ । दुई वर्षअघि प्रतिसेयर आम्दानी २४ रुपैयाँ थियो । बैंकको आधार व्याजदर ९ दशमलव ३३ प्रतिशत छ ।
निक्षेप तथा कर्जाको औसत व्याजदर अन्तर ४ दशमलव ९ प्रतिशत छ । आगामी चैत मसान्तसम्म यो दर ४ दशमलव ७५ प्रतिशतको सीमाभित्र झानुपर्ने चुनौती रहेको बैंक बताउँछ । २०७३ पुस मसान्तसम्म ७९ अर्ब निक्षेप संकलन गरेको बैंकले २०७५ पुस मसान्तसम्म एक खर्ब ७५ अर्ब पुर्याएको बैंकले जानकारी दिएको छ ।
यस अवधिमा कर्जा प्रवाह ६६ अर्बबाट बढाएर एक खर्ब ४९ अर्ब पुर्याएको छ । दुई वर्षअघिसम्म मध्यमस्तरमा रहेको बैंकको व्यवसाय अहिले सबैभन्दा उच्च छ । असार मसान्तसम्म यो दर ४ दशमलव ५० प्रतिशत मुनि ल्याउनुपर्ने व्यवस्था छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० दशमलव ५३ प्रतिशत लाभांश प्रदान गरेको छ । पुस मसान्तसम्म बैंकको सिसिडी रेसियो ७८ दशमलव ७१ प्रतिशत रहेको बैंकले बताएको छ ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार १४:०१