बाँके । राष्ट्रिय सतर्कता केन्द्रको अध्ययनअनुसार बाँकेलगायत देशभरका स्थानीय तहका कर्मचारी अनुशासनहीन रहेका छन् । सरकारी कर्मचारी अराजक र अनुशासनहीन भएको उक्त अध्ययनले देखाएको छ । राजनीतिक स्थिरताको नारासहित चुनाव जितेर संसदमा दुईतिहाइ बहुमत प्राप्त सरकार बनेपछि सरकारी कर्मचारीलाई लगाम लगाउन सकिने विश्वास गरिएको थियो ।
तर, पछिल्लो नतिजा हेर्दा सरकारी कर्मचारी अझै नसुध्रिएको देखिएको छ । प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले नमूना छनोटका रूपमा गरेको अध्ययनबाट मुलुकभर सरकारी कार्यालयका कर्मचारीले अनुशासन बाहिर रहने गरेको पाइएको हो । कर्मचारीले समयमै कार्यालयमा उपस्थित नहुने र पोशाक नलाउने गरेको केन्द्रको अध्ययनले देखाएको छ ।
मुलुकभर २० जिल्लामा नमूना छनौटको रुपमा केन्द्रले गरेको अध्ययनबाट ७९३ जनाले अनुशासनको पालना नभएको पाइएको प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रकाअनुसार कार्यालयमा अनुगमनका क्रममा अधिकाशं कर्मचारी समयअनुसार कार्यालयमा उपस्थित नभएका र उपस्थित भएकाले पोशाक नलगाएको पाईएको थियो ।
‘गत साउनयता पुस १८ गतेसम्म २० जिल्लामा अुनगमन गरेका थियौं,’ केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले भने, ‘७९३ कर्मचारीले अनुशासन पालना नगरेको पाइएकाले कारवाहीका लागि सिफारिश गरेका छौं ।’ उनका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालयमा अनुमगन गरिएको थियो ।
उनले भने ‘सरकारले सरकारी कर्मचारीलाई पोशाकका लागि अतिरिक्त रकम उपलब्ध गराउँदै आएको छ । तर, कर्मचारीले पोशाकको लागि दिइएको अतिरिक्त रकम लिएर पोशाक नलाएरै कार्यालय आउने गरेका भेटिएको छ ।’ यसरी पोशाक नलगाइकनै कार्यालयमा उपस्थित हुने र समयमै कार्यालयमा अपस्थित नहुने कर्मचारीलाई विभागीय कारवाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरिएको केन्द्रले बताएको छ ।
सत्यपाटी - ।