सूचनाको शक्ति - The Power Of Information

        

‘माननीय आमा’ : नाबालक छोरोले रुँदै पछ्याउँदा पनि खटिएकै छिन् पार्वती

सुशील नेपाल । काठमाडौं । सोमवार बिहान ११ बजेका लागि राष्ट्रिय सभा बैठक बोलाइएको थियो । प्रतिनिधि सभाबाट तनावका बीच पारित भएर आएको चिकित्सा शिक्षा विधेयक टेबुल गर्ने कार्यसूचीका कारण बैठक निकै महत्त्वपूर्ण पनि थियो । बैठकमा सहभागी हुन सिंहदरवारस्थित संसद् सचिवालयबाट निस्किने तयारीमा थिइन्, राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा ‘पार्वती’ ।
राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति समेत रहेकाले उनी शुरूमा सिंहदरबारस्थित कार्यालयमै पुग्छिन् । संसद् जान त्यहीँबाट बानेश्वरतर्फ लाग्ने गरेकी छन् । सोमवार बानेश्वर जानका लागि निस्किँदै गर्दा सानो एक बालक चिच्याउँदै उनको पछि लागे । ‘नानीऽऽऽ!’ भनेर रुँदै पछि लागेका ती बालक अरू कोही नभएर उनकै कान्छा छोरा दियान थापा थिए । घरमा फूपुहरूले नानी भनेको सुनेकाले डेढ वर्षका दियान आमालाई नानी नै भनेर बोलाउँछन् ।

….

बुवा दिनेश थापा चितवनमै बस्छन् । आमा सांसद बनेपछि दियान पनि काठमाडौंमा आमासँगै बस्न थालेका हुन् । दाइ दिवस भने चितवनमै छन् । दियान र दिवसको उमेरमा झण्डै १३ वर्षको अन्तर छ । आमाको निकै महत्वपूर्ण जिम्मेवारीका कारण शायद उनले धेरैसमय सँगै बिताउन पाएका छैनन्, त्यसैले होला आमा बाहिर निस्किन लाग्दा रुँदै पछि लागेका ।
सोमवार पार्वती संसद् सचिवालयले उपलब्ध गराएको गाडीमा संसद् भवनतर्फ जान लागेकी थिइन् । संसदीय समिति सभापतिको हैसियतमा भएकाले उनलाई संसद् सचिवालयले गाडी उपलब्ध गराएको हो । सभापतिहरूलाई गाडीसहित सचिवालयको सुविधा पनि उपलब्ध हुन्छ । बाहिर निस्किन लागेका बेला आफ्नो नाबालक सन्तान रुँदै पछि लाग्दा कुन आमा सहजै निस्किन सक्लिन् र ! उनी पनि सकिनन् ।
त्यसपछि उनले आफ्नो गाडी नलैजाने निर्णय गरिन् । कारण, दियान सवारी चालक सुजन निरौलालाई खुबै पछ्याउँछन् । दियानले मामा भनेर बोलाउने सुजन साइनोले मामा पर्ने भने होइनन् । मामाको साथ पाएपछि दियान चुप लागे । पार्वती अर्कै गाडीमा लिफ्ट मागेर संसद् भवनतर्फ लागिन् ।

….

त्यसो त उनी सधैं आमासँगै सिंहदरबार आउने भने होइनन् । उनलाई ढुंगेधारा निवासी फुपूले रेखदेख गर्छिन् । बिहान कार्यालय समयमा आमा निस्किएपछि नफर्किँदासम्म उनको रेखदेख फुपूकै जिम्मामा हुन्छ । यतिबेला भने फुपूहरू काम विशेषले राजधानी बाहिर गएकाले दियान आमासँगै सिंहदबार आएका हुन् ।
‘परिवार (फुपू)को जिम्मामा छाड्दा त ढुक्क नै हुन्छ,’ पार्वती भन्छिन्, ‘तै पनि सानै छ । आजसम्म रातमा भने छाडेको छैन ।’ संसदीय समितिबाट उनी बेलाबखत राजधानी बाहिर पनि स्थलगत निरीक्षणमा गइराख्नुपर्ने हुन्छ । केही समयअघि उनी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकनका लागि बारा गएकी थिइन् ।
दुई दिनको अवलोकनमा उनले छोरालाई पनि सँगै लिएर गइन् । आमाको मन न हो, अझैसम्म रातभरीलाई छाड्न सकेकी छैनन् । अबको केही दिनमा उनको समिति राज्यको तहगत संरचनाका विषयमा छलफलका लागि प्रदेश–प्रदेशमा जाने तयारीमा छ । प्रदेशको एक चरणको भ्रमण कम्तिमा ३ दिनको हुनेगरी कार्यतालिका बनेको छ ।

….

सांसद जनताका प्रतिनिधि हुन् । जनताका चासोलाई संसद्मा जोडतोडका साथ उठाउने जिम्मेवारी उनको काँधमा छ । संसदीय समिति सभापतिको हैसियतमा सरकारका कामकारवाहीको निगरानी गर्ने र समन्वय गर्ने जिम्मेवारी पनि थपिएको छ । त्यसैले उनलाई नितान्त आमा बनेर छोरालाई मात्र समय दिने छूट छैन । उनले नेतृत्व सम्हालेको समितिको कार्यक्षेत्र पनि ठूलो छ ।
तहगत राज्य संरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि सम्झौता कार्यान्वयनको अवस्था, समन्यायिक विकासको अवस्था, पिछडिएको क्षेत्र, समुदाय, संस्कृति, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा र संवैधानिक आयोगसम्बन्धी विषय उनकै नेतृत्वमा हेरिनुपर्छ ।
समितिको सभापतिका रूपमा जिम्मेवारी सम्हालेको करीब ५ महिना पुग्न लाग्दा उनले राष्ट्रिय गौरवका आयोजनाबारे मन्त्रीहरूलाई बोलाएर पटक–पटक छलफल गरिसकेकी छन् । ऊर्जा, वन तथा वातावरण, श्रम तथा रोजगार, कानून न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन लगायत मन्त्रीहरूलाई उनको समितिमा बोलाएर छलफल भइसकेको छ ।
अब तहगत राज्य संरचनामा प्रवेश गर्ने र तीन तहका सरकारबीच समन्वयको वातावरण बनाउन सघाउने उनको योजना छ । यसरी हेर्दा पार्वतीले एकातर्फ आमा र अर्कोतर्फ जनप्रतिनिधिको जिम्मेवारी कुशलतापूर्वक बहन गरिरहेकी छन् । ‘जिम्मेवारी जति धेरै भयो त्यसै अनुरूप समय व्यवस्थापन हुने रहेछ,’ उनले थपिन्, ‘खुशी नै छु । यताको कामलाई पनि व्यवस्थापन गरेको छु । छोरा पनि हुर्किँदैछ ।’

#लोकान्तर

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार ०९:०४