कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादन शुरु भएको छ । पहिलोपटक जुम्लामै अक्सिजन प्लान्ट उपकरण जडान गरेर उत्पादन शुरु गरिएको हो ।
अक्सिजन उत्पादन शुरु भएसँगै जतिसुकै जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्न सहज हुने भएको छ । “पहिले अक्सिजन नेपालगञ्जदेखि भरेर ल्याउनु पर्ने बाध्यता थियो”, अस्पतालका निर्देशक धर्मराज गोसाईंले भन्नुभयो, “नेपालगञ्जबाट ल्याउँदा अस्पतालमा अक्सिजनको चरम अभाव हुने स्थिति आउन सक्थ्यो तर अब बिरामीलाई अक्सिजन अभाव नहुने भएको छ ।”
उहाँका अनुसार कर्णाली राजमार्गमा आइरहने बाढीपहिरो तथा अन्य अवरोधका कारण समयमै अक्सिजन आपूर्तिमा समस्या थियो, अब त्यो समस्या टरेको छ । आवश्यक परेको बेला अक्सिजन उत्पादन गरेर दिन सकिने अवस्थाको सिर्जना भइसकेको छ ।
दैनिक ५० सिलिण्डरसम्म अस्पतालमा अक्सिजन आपूर्ति गर्नुका साथै आठदेखि १० सिलिण्डर भर्न सकिने प्लान्ट अस्पतालमा जोडिएको छ । उपकरण जोड्न भारतको कानपुरदेखि आएका सञ्जीव कुमारका अनुसार प्लान्टबाट उत्पादित अक्सिजन नजिकैको जिल्लामा रहेका अस्पतालसम्म पठाउन सकिन्छ ।
उपकरण बिग्रेको र बिजुली नियमित आपूर्ति नभएको खण्डमा बाहेक अरु बेला नियमित अक्सिजन उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ८० वटा अक्सिजनका सिलिण्डर छन् ।
च्याउखेतीबाट जुम्लाका महिला आत्मनिर्भर
च्याउखेतीबाट जुम्लाका महिला आत्मनिर्भर बन्न थालेका छन् । महिला समूह तथा व्यक्तिगतरूपमा समेत च्याउ उद्योग सञ्चालन गरेर यहाँका महिलाहरू आत्मनिर्भर बन्न थालेका हुन् । जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गरेको तालीममा सहभागी भएर महिलाले सामूहिक च्याउखेती गर्न थालेका छन् ।
आफ्नो आयस्रोत नहुँदा अरुसँग मागेर भए पनि दैनिक आवश्यकता पूरा गर्दै आएका महिलाले अहिले आफैँ कमाउन थालेका छन् । आफूले कमाउन थालेपछि घरायसी खर्च टार्नुका साथै छोराछोरीलाई पढाउन सहज भएको चन्दननाथ नगरपालिका–२ की लक्ष्मी बुढ्थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो– “च्याउखेती शुरु गरेपछि कसैसँग पैसा माग्न परेको छैन । आफ्नै कमाइ भएपछि आवश्यकता अनुसारको खर्च गर्न पाएकी छु । पहिला श्रीमान्सँग माग्न सारै गाह्रो हुन्थ्यो । अहिले आफूलाई मन लागेको खर्च गर्न र अरुलाई दिन सजिलो भएको छ ।” आफ्नै कमाइ भएको हुनाले कसैको मुख ताक्नु र हात थाप्नु नपरेको उहाँको भनाइ छ ।
वर्षमा रु ७० देखि ९० हजारसम्म च्याउखेतीबाट आम्दानी हुने गरेको नगरपालिका–९ की शोभा शाहीले बताउनुभयो । घरको अन्य सबै काम सकेर च्याउखेती गर्दै आएको उहाँले बताउनुभयो । “छ वर्ष अगाडि श्रीमान्को कमाइले जीवन जिउनु पथ्र्यो । अहिले आफ्नै कमाइले आवश्यकता पूरा गर्न सहज भएको छ”, उहाँले भन्नुभयो ।
पछिल्लो केही समययता महिला पनि सक्रियरूपमा काम गरेर आत्मनिर्भर बन्दै आएको तिला गाउँपालिका–२ की च्याउ उत्पादन कृषक लछी बोहोराले बताउनुभयो । च्याउखेतीबाट राम्रो आम्दानी हुने भएपनि बजार व्यवस्थापनमा भने केही समस्या रहेको उहाँको भनाइ छ । लछी च्याउ उद्यमी बनेको चार वर्ष भयो । यसबाट सहकारीमा बचत गर्न, छोराछोरीको कापी कलम किन्न सजिलो भएको छ । सबै महिला समूहमार्फत काम गर्न थालेपछि छिटो हुने तर कमाइ राम्रो बनाउन बजार व्यवस्थापन राम्रो नभएको उहाँको गुनासो छ ।
(रासस)
।