सूचनाको शक्ति - The Power Of Information

        

शैली फेर्दै मानव दलाल, प्रविधिले बढायो जोखिम

बाँके । नेपालगन्जको सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकको सधैँ नै भीडभाड हुने गर्छ । नेपालीकै भरमा सीमावर्ती रुपैडिहाको बजार चलेको छ । नेपालीकै बाक्लो उपस्थितिमा दैनिक ५ करोड करोबार हुने अनुमान छ । त्यसो त भारत प्रवेशका लागि पश्चिमको ठूलो र चलनचल्तीको नाका पनि यही हो ।
भारतबाट भित्रिने मालसामानको हिसावले पनि नेपालगन्ज पश्चिमको ठुला नाका मानिन्छ । भारतबाट नेपालगन्ज भन्सार हुँदै नेपाल भित्रिने सामान तथा सरकारले असुल्ने राजश्वको मात्राले पनि त्यसको पुष्टि गर्छ । सरकारले देशभरमै राजश्व बढी संकलन गर्ने नाकामा नेपालगन्जको नाम अगाडि नै आउँछ । यहाँको यो वर्षको राजश्व असुलीको लक्ष्य १२ अर्ब ३३ करोड रहेको छ ।
यसका अलावा नेपालगन्ज नाका जोखिमपूर्ण यात्राका लागि पनि उत्तिकै चर्चामा आइरहन्छ । मानव दलालले भारत तथा वैदेशिक रोजगारका लागि नेपाली महिलालाई यही नाका हुँदै लैजाने गरेका छन् । पूर्वी पहाडी जिल्ला झापा, सप्तरी, सिराह, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेका महिला तथा बालबालिकासमेत वैदेशिक रोजगारका लागि भारत हुँदै खाडी मुलुक जाने क्रममा नेपालगन्ज नाकामा पक्राउ पर्ने गरेका छन् ।
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला भन्छन्, ‘रुपैडिहामा किनमेल गर्न जाने निहुँ बनाएर नाका पार गर्ने कोसिस गरिन्छ ।’ सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्मको माइती नेपालको तथ्यांकलाई हेर्ने हो भने जोखिमपूर्ण यात्रामा रहेका ९२० जनालाई नेपाल–भारत सीमानाका जमुनाबाट उद्दार गरी परिवारको जिम्मा लगाइएको छ ।
तथ्यांकअनुसार ४१२ जना १८ बर्षमूनीका बालिका रहेका छन् भने ३१ जना बालक रहेका छन् । त्यस्तै १८ बर्षमाथिका ४७७ जना महिला रहेका छन् । सोही अवधिमा माइती नेपालले खाडी मुलुकबाट ४ जना र भारतबाट ७८ जना गरी ८२ जनाको उद्दार गरेको छ । उद्दार गरिएकामा १८ वर्षमुनिका १९ जना बालिका, ४ जना बालक छन् भने १८ वर्षमाथिका ५९ जना महिला रहेका छन् ।
यस्तै सोही अवधिमा ८७५ जना हराएका छन् । जसमध्ये १८ वर्षमुनिका ३३२ जना बालिका, १२८ बालक र १८ वर्षमाथिका ४१५ जना महिला रहेका छन् । हराएका मध्ये १४० जना फेला पारेर परिवारसँग पुर्नमिलन गराइएको माइती नेपालले जनाएको छ । विदेशबाट उद्धार गरिएका मध्ये जनजाती/आदिवासी ४८, दलित १८ र ब्राहमण/क्षेत्री १६ रहेका छन् ।
त्यसैगरी हराएकामध्ये सबैभन्दा बढी ब्राहमण/क्षेत्री ३९७ जना, दलित २७३ जना र जनजाती/आदिवासी २०५ जना रहेका छन् । सिमानाकाबाट उद्धार गरिएकामध्ये सबैभन्दा बढी ब्राहमण/क्षेत्री नै रहेका छन् । जसमा ब्राहमण/क्षेत्री ३५६ जना, जनजाती/आदिवासी ३२२ र दलित २४२ रहेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।
हराउने र सिमा नकाबाट उद्धार गरिनेहरु उच्च घरानाका महिला तथा बालबालिकासमेत रहेको माइती नेपालको तथ्यांक छ । विगतका वर्षहरुमा पूर्वी पहाडी जिल्लाका महिला बालबालिका रहने गरेको भए पनि यसवर्ष भने साविकको मध्यपहाडी जिल्लाका महिला बालबालिकाहरु धेरै रहेका छन् । सधैँ भीडभाड हुने भएकाले नाका पार गराउन सजिलो हुने विश्लेषण गरेर दलालले यो नाकालाई प्रयोगमा ल्याइरहेको माइती नेपाल नेपालगन्जका संयोजक कोइराला बताउँछन् ।
छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागीर लगाइदिने, प्रेम तथा विवाह गर्ने बाहनामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । अहिले भारतमा मात्रै नभई तेस्रो मुलुकमा समेत महिला तथा किशोरीलाई मानव तस्करले पुर्याउँदै आएका छन् ।
‘बिलासिताप्रतिको बढ्दो आकर्षण, पारिवारिक समस्या, बेरोजगार लगायतका कारण महिला–बालबालिका जोखिममा छन्,’ संयोजक कोइरालाले भने, ‘दलालले बहिनी, श्रीमती, छोरी लगायतका नाता लगाएर भारत तथा तेस्रो मुलुकमा काममा लगाइदिने तथा सँगै बस्ने बहानामा नेपाली युवतीलाई सीमा कटाउने गरेका छन् ।’
बाँके, बर्दियालगायत यस क्षेत्रका महिला त सजिलै नाका पार गर्छन् । किनभने उनीहरुलाई नाकामा बोल्नुपर्ने सबै कुरा थाहा छ । टाढाका जिल्लाबाट घरबाट बिदाई भएर आएका, यहाँका रैथानेभन्दा फरक बोल्नेहरु नाकामा रोकेर घर फिर्ता पठाइन्छ । त्यसो त प्रविधिका कारण पनि नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्ने गरेको माइती नेपालको तथ्यांक छ ।
विगतमा भौतिक उपस्थितिमै ललाइफकाइ महिला बेच्ने गिरोह अहिले मोबाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पुर्याउने गरेको पाइन्छ । माइती नेपालका संयोजक कोइरालाले भने, ‘फेसबुक, म्यासेन्जर हुँदै इमो चलाउने ग्रामीण क्षेत्रका महिलाको सङ्ख्या उच्च देखिएको छ ।’ माइती नेपालले उद्धार गरेका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन् ।
प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गएको छ । ‘प्रविधिकै कारण महिला सिधै दलालको पोल्टोमा पर्ने गरेका छन् । चेलीबेटी बेचबिखनविरुद्ध सरकारी तथा गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेका छन्,’ बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अरुण पौडेलले भने, ‘दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् ।’

प्रकाशित मिति : १३ माघ २०७५, आइतवार १२:३७