काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई आज बिहान स्वेदश फर्कदै छन् । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।
मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए ।
उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सङ्गठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले नेपालको लोकतन्त्र र स्वतन्त्र प्रेसका पक्षमा आफूले आधा शताब्दीभन्दा बढी सङ्घर्ष गरेको उक्त मञ्चमार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए ।
सत्यपाटी - ।