सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा डिप बोरिङ सञ्चालनको तयारी

बाँके । नेपालगन्ज उपमहानगरपालिको विभिन्न स्थानमा प्रयोगविहीन अवस्थामा रहेका करीब ३८ डिप बोरिङको मर्मत कार्य शुरु गरिएको छ । डिप बोरिङ मर्मत गर्न उपमहानगरपालिकाले भारतको बहराइचबाट दक्ष मेकानिक बोलाएर काम शुरु गरेको छ ।
बोरिङ मर्मत र सञ्चालनका लागि उपमहानगरपालिकाले रु १० लाख बजेट छुट्याएको छ । नगरप्रमुख डा धवलशम्शेर राणाले पहिलो चरणमा तीन डिप बोरिङ मर्मत गरी सञ्चालनमा ल्याइने र त्यसको परिणाम हेरेर मात्र अन्य बोरिङ मर्मत गरेर सञ्चालनमा ल्याउने बताए ।
उनका अनुसार बाँकेका विभिन्न स्थानमा अहिले १०२ डिप बोरिङ अलपत्र अवस्थामा रहेका छन् भने नेपालगन्ज क्षेत्रभित्र ३८ बोरिङको अवस्था पनि त्यस्तै रहेको छ । मर्मत गर्न लागिएको अधिकांश डिप बोरिङको ट्रान्सफर्मर र महत्वपूर्ण पार्टपूर्जा चोरी भएको अवस्थामा रहेको छ ।
उपमहानगरपालिकाले डिप बोरिङ सञ्चालन गरेपछि कृषक समूहलाई हस्तान्तरण गर्ने जनाइएको छ । करीब २० वर्ष अगाडि सञ्चालनमा आएर असुरक्षाका कारण प्रयोगविहीन भएका ती डिप बोरिङ मर्मत गरेर एक महीनाभित्र सञ्चालनमा आउने बताइएको छ ।
‘डिप बोरिङ सञ्चालन भएपछि नेपालगन्जको कृषि विकासमा क्रान्ति नै आउँछ,’ नगरप्रमुख राणाको थप भनाइ छ, ‘एउटा डिप बोरिङबाट झण्डै ३० देखि ४० बिघा जमीनमा सिँचाइ गर्न सकिन्छ ।’ यसैगरी, नेपालगन्ज उपमहानगरपालिकाले कृषि क्षेत्रको विकासका लागि पनि रु १० लाख बजेट विनियोजन गरेको नगरप्रमुख राणाले बताए ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार १३:०७