कुमार श्रेष्ठ । बाँके । भारतको रुपैडिहामा एक नेपाली बृद्धा ठूलो मात्रामा लागूऔषध अफिमसहित पक्राउ परेकी छन् । नेपाली नाका पार गरेर भारतको रुपैडिहा पुगकी बाँकेको कोहलपुर घर बताउने जोगमायालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुई किलो ८ सय ग्राम लागुऔषध अफिमसहित पक्राउ गरेको हो ।
रुपैडिहाको प्रहरी कार्यालय अगाडि भारतीय प्रहरीले चेकजाँच गर्ने क्रममा उनी अफिमसहित पक्राउ परेको एसएसबी रुपैडिहाले जानकारी दिएको छ । बाग्लुङ घर भई कोहलपुरमा बसोबास गर्ने जोगमायालाई तस्करले भरिया बनाएर अफिम बोकाएका थिए । यद्यपि, जोगमायाले अफिम बोकाउनेलाई नचिन्ने बयान दिएकी छन् ।
‘मलाई त्यहाँसम्म पु¥याइदिनु भन्यो । मैले बोकेर हिँडे । त्यो सामान दिने मान्छेलाई मैले चिन्दिन’ जोगमायाले भनिन् । आर्थिक प्रलोभनमा परेरे नेपाली महिलाले अफिम र चरेश बोकेको यो पहिलो घटना होइन । भारतको बहराइचस्थित जेलमा रहेका १० नेपाली महिलाहरु लागुऔषधको भरिया बन्दा भारतीय प्रहरीको फन्दामा परेका हुन् ।
बृद्धालाई प्रहरीले शंका नगर्ने भएकोले तस्करले उनलाई प्रयोग गरेको हुनसक्ने भए पनि भारतीय प्रहरीले उनलाई लागुऔषध अफिमसहित पक्राउ गरेको हो । उनी नेपाली सुरक्षाकर्मीको आँखा छलेर भारतको रुपैडिहा पुगेकी थिइन् । नेपाल प्रहरीले भारतबाट फर्कनेहरुलाई निगरानी गरे पनि नेपालबाट भारततर्फ जानेहरुको राम्ररी जाँच नगर्दा लागुऔषध ओसारपसार गर्नेहरु भारतमा पक्राउ पर्ने गरेका छन् ।
पहाडी जिल्लामा उत्पादन हुने लागुऔषध चरेश र अफिमलाई नेपालगन्ज झारेर ‘पायक’ पारेर भारततिर निकासी गर्ने गरिन्छ । त्यसका लागि बालबालिकादेखि बृद्धबृद्धासम्म प्रयोग भएको पाइएको छ । केही वर्षअघि ७० वर्षकी महिला यसरी नै चरेशसहित रुपैडिहामा पक्राउ परेकी थिइन् । उनले चरेश बोकेवापत पाँच हजार पाउने आशामा पाउने भारतमा उपचार गर्न जान लागेको बताएकी थिइन् ।
#देश सञ्चार
कुमार श्रेष्ठ - ।