सूचनाको शक्ति - The Power Of Information

        

दुध विक्रीमा ट्राफिक प्रहरीको अवरोध, दैनिक एक हजारसम्म बुझाउनुपर्ने खुलासा

फाइल तस्वीर

बाँके । नेपालगन्ज उपमहानगरपालिकाभित्र दुध बिक्री बितरण गर्दै आएका दुग्ध संकलनले ट्राफिकलाई नियमित रकम बुझाउनुपरेको खुलासा गरेका हुन् ।
उनीहरूका अनुसार ट्राफिकले मागेको रकम नदिए प्रहरीबाट दुध बजार लैजान अवरोध सिर्जना हुने गरेको गुनासो गरेका छन् । सय बढि यस्ता दुध संकलनले मोटरसाइकलमा हालेर नेपालगन्जका घर घरमा पुगेर बिक्री गर्दै आएका छन् ।
मोटरसाईकलमा यसरी दुध बिक्री गर्न नपाउने भन्दै प्रहरीले उपमहानगरभित्र प्रवेश गर्न नदिएको उनीहरुको भनाई छ । दुध संकलनले आफुहरूबाट प्रहरीले पाँच सयदेखि एक हजारसम्म रूपैयाँ लिने गरेको उनीहरुले बताएका छन् ।
यदि मागेको रकम नदिए ग्रामिण क्षेत्रबाट आउने दुध बाटोमै रोक्ने समेत गरिएको उनीहरू बताउँछन् । ‘यसरी मोटरसाईकलमा दुध ल्याउन पाईदैन भन्दै अवरोध गरिन्छ । रूपैयाँ मागिन्छ तर, यसरी मागेको रूपैयाँको रसिद भने ट्राफिकले दिन मान्दैनन्,’ एक दुध संकलकले भने ‘हरेक दिन यस्ता अवरोध हटाउँदै दुध बिक्री गर्नुपरेको छ ।’
बिहान चार बजे उठेर किसानको घरमा पुगेर संकलन गरेको दुध संकलकहरूले मोटरसाइकलमा हालेर नेपालगन्जमा बिक्री गर्दै आएका छन् । आफुहरुले बिक्री गर्ने दुध गुणस्तरिय रहेको ती दुध संकलकले बताए ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले दुध बिक्रीमा कुनै अवरोध सिर्जना नगरिएको बताएका छन् । त्यस्तो कार्य गर्नेलाई कारवाही हुने पनि बताए । तर, खजुराको मानपुर लगायतका क्षेत्रमा ड्युटी गर्ने ट्राफिकले नियमित दुध संकलकसँग रकम असुल्दै आईरहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार १३:२५