सूचनाको शक्ति - The Power Of Information

        

जन्मदर्ता नहुँदा विद्यालयद्वारा भर्ना लिन अस्वीकार, जनकको भविष्य अन्यौलमा

सुर्खेत । पञ्चपुरीमा रहेको जनता माध्यमिक विद्यालयले दुई वर्षअघि एकजना विद्यार्थीलाई जन्मदर्ता नभएको भन्दै भर्ना लिन अस्वीकार गरेको छ । वडा नं. ९ तल्लाविजुमा बस्दै आएका जनक माझीलाई दुई वर्षअघि जन्मदर्ता नभएको बताउँदै विद्यालयले कक्षा ९ मा भर्ना नलिएको पाइएको हो ।
उनले आफू जन्मिनु आफ्नो कुनै गलत नभएको बताउँदै निर्वाध रुपमा पढ्न पाउने व्यवस्था मिलाई दिनसबैलाई आग्रह गरेका छन् । ‘अहिले म १६ वर्षको भएँ । म यहिँ जन्मेको सबै समाजलाई नै थाहा छ,’ उनले भने, ‘तर मेरो जन्मदर्ता नभएको नाउँमा संविधानले दिएको शिक्षा सम्बन्धी मौलिक अधिकार हनन् भएको छ ।’
टप्प–टप्प आँसु चुहाउँदै कुरा गरिरहेका माझीले आफूलाई समाजले सहयोग नगरेको बताए । ‘म यति निरीह बनेको छु कि कोही कसैले मेरो पक्षमा आवाज नै उठाइ दिएनन्,’ उनले भने, ‘अब कोही छ त मेरा लागि तपाईहरु नै हो । यहाँहरु मार्फत मेरो अध्ययन गर्ने चाहना पूरा होस् ।’

उनले किन पाएनन् जन्मदर्ता ?
उनकी आमा भूमिसरा थापाले आफ्नो गर्भ स्थानीय विष्णु माझीको गर्भ रहेको तर, उसले विवाह नगर्दा बच्चा जन्मिएको बताइन् । ‘सानै उमेरमा मेरो माझीसँग लभ थियो । सोही माया प्रेमका कारण जनक जन्मिएको हो,’ उनले भनिन्, मैले बारम्बार विष्णुलाई फोन गरेर जन्म दर्ता दिलाई दिन आग्रह गरेपनि उसले कहिल्यै कुरा सुन्दैन ।’
थापाले आफूलाई विष्णुले विवाह गर्ने शर्त राखेको स्मरण गरिन् । ‘उतिबेला उसले मलाई विवाह गर्छु भनेर भन्यो । तर अहिले उसले अर्कैलाई विवाह गरेर एक छोरा र एक छोरी जन्माइसकेको छ,’ उनले भनिन्, ‘अहिले उ कोहलपुरमा ट्राफिक प्रहरी छ । उसलाई जन्मदर्ता गराइदिन आग्रह गरेपनि सुनुवाई भएको छैन ।’
वडामा पनि उनी गइन् । तर, त्यहाँ बाबुको नागरिकता खोज्यो । वडापालिकाले बुवा विना जन्म दर्ता गर्न मिल्दैन भनेर फिर्ता पठायो । त्यसपछि कहाँ के गर्नु पर्छ? उनले थाहा नै पाइनन् । विष्णुको नाउँमा उनले अहिलेसम्म कहि पनि उजुरी दिएकी छैनन् ।
‘मैले अहिलेसम्म विष्णुसँग छोराको जन्मदर्ताबाहेक अरु केहि नचाहिने बताएकी थिएँ । उसले मसँग डीएनए जाँच गरेर मात्रै दिन्छु भन्छ । तर, ‘अहिलेसम्म केहि गरेको छैन,’ थापाले भनिन्, ‘अब अन्तिम विकल्प मेरा लागि मुद्दा दिनु नै हो ।’ उता विष्णु माझीले थापासँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरे ।
‘मलाई नै थाहा नै छैन । आधारहिन रुपमा केहि दिनदेखि गाउँमा प्रचार भइरहेको मैले सुनेको छु,’ माझीले भने, ‘नितान्तरुपमा आरोपित गरिएको हो । यो कुरामा सत्यता छैन ।’ १७ वर्षसम्म उनी कहाँ थिइन् र अहिले मलाई यसरी आरोप लगाइरहेकी छिन्, मलाई केहि थाहा छैन । माझीले यदि प्रमाणित भएको खण्डमा आफू तयार रहेकोसमेत बताए । तर आफूले कोही कसैसँग सम्वन्ध राखेर कसैको भविष्य बर्बाद नपारेको दाबी गरे ।
यता, पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खडकाले नगरपालिकामा यस्तो खाले कुनै पनि उजुरी आएको आफूलाई जानकारी नभएको बताए । यदि विद्यालयले मानेको खण्डमा नगरपालिका जीवनका लागि जन्म भएको प्रमाणपत्र दिन सकिने र सोही आधारमा उनले अध्ययन गर्न सक्ने बताए ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार १२:४३