सूचनाको शक्ति - The Power Of Information

        

गाभरमा बन्दै प्रदेशकै पहिलो साइकिल ट्रेल

बाँके । बाँकेको गाभर उपत्यकामा प्रदेश ५ कै पहिलो साइकिल ट्रेल बनाइने भएको छ । गाभर उपत्यकाको बीचमा रहेको रारारानी सामुदायिक वनमा करिब १० किलोमिटरको साइकिल ट्रेल बनाउन लागिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए ।
उनका अनुसार पर्यटकीय गतिविधिलाई प्रवद्र्धन गर्न साइक्लिङ रुट निर्माण गरिनेछ । भौगोलिक वनावट अनुकूल रहेको, जैविक विविधतामा असर नपर्ने भएकाले साइक्लिङ रुट निर्माण गर्न लागिएको बताउँदै अध्यक्ष चौधरीले भने, ‘यो साइकिल ट्रेल निर्माण भए यहाँ राष्ट्रिय खेल खेलाउन सकिने र प्रदेश ५ को पहिलो साइकिल रुट हुनेछ ।’
साइकिल ट्रेल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै पर्यापर्यटनका गतिविधि थप बढ्ने अपेक्षा गरिएको छ । अध्यक्ष चौधरीले साइकिल ट्रेलले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न मद्दत गर्ने बताए । यसले आसपासका गाउँसँग जोड्न पनि साइकिल रुट आवश्यक भएको उनले बताए ।
योसँगै गाभर उपत्यकादेखि खड्कवार हात्तीसारसम्म पनि साइकल ट्रेल बनाउने योजना छ । गाभर भ्यालीबाट सुरु हुने साइकिल रुट गिद्देनी घाँसेमैदान हुँदै खड्कवारसम्म पुगिनेछ । यसका लागि पनि छलफल भइरहेको बताउँदै अध्यक्ष चौधरीले भने, ‘गाभर–च्यामा क्लस्टर, गाभर–अष्ट्रिच फर्म क्लस्टरमा पनि साइकिल रुट बनाइने योजना छ ।’
‘मानसरोवर, रारालगायतका क्षेत्रमा जाने पर्यटकलाई यहीँ केही दिन होल्ड गर्न सकिन्छ,’ नेपालगन्ज साइक्लिङ क्लब सचिव गगन थापाले भने, ‘साइक्लिङका धेरै फाइदा छन् । यसलाई पर्यापर्यटनसँग जोडेर लैजाँदा पर्यटन क्षेत्रमा निकै उपलब्धीमूलक देखिन्छ ।’ स्वास्थ्य, पर्यावरण, मनोरन्जनका हिसाबले साइक्लिङ अतिमहत्वपूर्ण रहेको उनको भनाई छ ।
त्यसो त गाभर उपत्यकामा अहिले पनि साइक्लिङ हुँदै आएको छ । तर, साइकल रुट नै निर्माण गरेर यसलाई थप व्यवस्थित बनाइने चौधरी बताउँछन् । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले पर्यापर्यटनका गतिविधि विभिन्न क्षेत्रमा भइरहेको भए पनि साइक्लिङको अवधारणा नयाँ भएको बताए ।
बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले आगामी वर्षबाट यस क्षेत्रका लागि बजेट छुट्याइने बताए । साइक्लिङले पर्यटन प्रवद्र्धनमा ठूलो महत्व राख्ने भएकाले यसका लागि गाउँपालिकाले तत्काललाई पुरक बजेट ल्याएको जानकारी दिँदै उनले भने, ‘यहाँ साइकल ट्रेल बनाउन सकिने र पर्यटकलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ ।’

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार ०६:५७