पोखरा । सामान्य भनाभन मै बालगुङ गलकोट नगरपालिका ६ हरिचौरका सोमबहादुर बस्नेतलाई गम्भीर घाइते हुने गरी कुटपिटमा संलग्न दुई प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय बागलुङले विभागिय कारवाही गरेको छ । ईलाका प्रहरी कार्यालय हरिचौरमा कार्यरत प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाले बस्नेतलाई अनुचित बल प्रयोग गरी कुटपिट गरेको पाइएपछि प्रहरी नियमावली अनुसार हाललाई निलम्बन गरिएको बागलुङ प्रहरी कार्यालयका प्रमुख तथा एसपी बिनोद रेग्मीले जानकारी दिए ।
कुटाइबाट गम्भीर घाइते भएका बस्नेतको पोखरास्थित फेवासिटी हस्टिपटलमा मेजर सर्जरी (अप्रेसन) भएको छ । उनको स्वास्थ्यमा सुधार आइरहेको उपचारमा संलग्न सर्जन डाक्टर सुरेशराज पौडेलले जानकारी दिए । ‘लाइफ सेभिङ अप्रेशन गरिएको थियो, स्वास्थ्यमा धेरै सुधार आएको छ,’ उनले भने, ‘अप्रेशन भएको १० दिन पुगेपछि टाँका खोल्छौं, त्यसको केहि दिन भित्रमा नै उहाँलाई डिस्चार्ज गर्न सकिन्छ ।’ प्रहरीले लात्ति र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट परेकोले फियो (पेट भित्रको अंग) च्यातिएको थियो ।
फियो निकालेर पेटमा जम्मा भएको झण्डैं दुई लिटर रगत सफा गरेको डाक्टरको भनाई छ । गएको पुस २९ गते हरिचौरमा भएको घटनापछि घाइते भएका बस्नेतलाई उपचारका लागि ३० गते पोखरा ल्याइएको थियो । बस्नेतको मेजर अप्रेसन भएकाले पेटमा ५० भन्दा बढि टाँका लगाइएको छ । निलम्बित प्रहरी जवान द्वयलाई हरिचौर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको एसपी रेग्मीले जानकारी दिए ।
‘ड्युटीमा खटिएको प्रहरीले उनीहरुलाई कुटेको भन्ने जानकारीमा आएपछि हामीले अनुसन्धान थालेका हौं’, एसपी रेग्मीले भने, ‘सामान्य विषयलाई लिएर राष्ट्रसेवक प्रहरीले अनुचित बल प्रयोग गरेको देखिएपछि विभागिय कारवाही स्वरुप निलम्बन गरी थप अनुसन्धान भइरहेको छ ।’ घाइते बस्नेतको उपचारका लागि कुटपिटमा संलग्न प्रहरी जवानका परिवारले रकम उपलब्ध गराउँदै आएको प्रहरीले जनाएको छ ।
।