बाँके । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा आउने सर्वसाधारणका लागि लक्षित गर्दै आजदेखि सार्वजनिक घुम्ती शौचालय सञ्चालन ल्याएको छ । पश्चिम नेपालको व्यस्त शहर नेपालगन्जमा पर्याप्त सार्वजनिक शौचालय नभएको जनगुनासो बढ्दै गरेको बेलामा उपमहानगरले घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो ।
शौचालय नहुँदा स्थानीय, आगन्तुक र पैदल यात्रुले शौच लागेमा सकस र सास्ती खेप्दै आएका थिए । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणाले भने, ‘उपमहानगर क्षेत्रमा सार्वजनिक शैचालयको अभावले नगरको सरसफाई अभियानसमेत प्रभावित भएको जनगुनासो आइरहेका बेला घुम्ती शौचालयले धेरै समस्या समाधान हुने विश्वास गरेका छौं ।’
‘अहिले यी शौचालयको व्यवस्थित तवरले प्रयोगमा ल्याइने र पछि आवश्यकता अनुसार शौचालयको समस्यालाई व्यवस्थित ढंगले समाधान गर्न आवश्यकता हेरेर उपमहानगरको थप शौचालय खरिद गर्ने योजना रहेको छ,’ उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले भनिन्, ‘मानिसहरुको भीड भएका बेला शौचालयको अभावमा खुला ठाउँमा सौच गर्नुपर्ने बाध्यता हट्नेछ ।’
महानगरले घुम्ती शौचालय सञ्चालन गर्ने भएपछि सार्वजनिक शौचालयको समस्या हट्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनले शौचालय सञ्चालनका लागि उपभोक्तासँगै उपभोग गरेबापत केही शुल्क लिइने बताए । सार्वजनिक शौचालय नभएका तथा यात्रुहरुको भीड हुने क्षेत्रमा ती शौचालय राखिने जनाए ।
सार्वजनिक शौचालय नहुँदा असहजता व्यहोर्दै किनमेल गर्न आउने र यात्रा गर्ने यात्रुहरुका लागि घुम्ती शौचालय प्रभावकारी हुने देखिएको छ । सार्वजनीक शौचालय नहुँदा दिसापिसाव गर्ने समस्याको अन्त्य गर्न नेपालगन्जमा पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याइएको हो । ट्रयाक्टरमा जडान गरेर ती शौचालय एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिन्छ ।
सञ्चालनमा आएका शौचालय गुलरिया बसपार्क, पुष्पलाल चोक, गणेशमान चोक र त्रिभुवन चोकमा राखिएको छ । रु.५९ लाखको लागतमा चार वटा घुम्ती शौचालय ल्याएसँगै सार्वजनिक शौचालयको समस्या हट्ने उपमहानगरपालिकाको विश्वास छ । शौचालयबाट संकलित मलमुत्रलाई प्राङगारीक मल बनाएर प्रयोग गरिने उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।
सत्यपाटी - ।