सूचनाको शक्ति - The Power Of Information

        

मालपोतका कर्मचारी घुस लिँदै गर्दा पक्राउ

बाँके । मालपोत कार्यालय बाँके खरिदार सञ्जयकुमार ठाकुर ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई घुससहित प्रक्राउ गरेको हो ।
आयोगको नेपालगन्ज कार्यालयका प्रमुख गणेश गैरेका अनुसार ठाकुरलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका आरोपी कर्मचारी ठाकुरमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।
जग्गा पास गर्दा धेरै पैसा लाग्ने भन्दै र कम रकममा मिलाइदिने नाममा ठाकुरले महिला सेवाग्राहीसँग उक्त रकम लिएका थिए । जग्गा पास गर्न शुक्रबारदेखि कार्यालयमा आएका महिलासँग ठाकुरले एक लाख १७ हजार रुपैयाँ माग गरेको खुलेको छ । ती महिलाले त्यो दिन नसक्ने भनेपछि ठाकुर ५० हजार रुपैयाँ लिन तयार भएका बेला अख्तियार टोलीले पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ८ माघ २०७५, मंगलवार २०:२४