सूचनाको शक्ति - The Power Of Information

        

बिहे भएको चारदिनमै ओइलिएको प्रहरी निरीक्षक दम्पतीको प्रेम अब मन्दिरमा !

सर्जना कार्की । रुकुम (पूर्व) । नवीन श्रेष्ठ र अनिता प्रधान श्रीमान् श्रीमती थिए । उनीहरु दुवै प्रहरी निरीक्षक थिए । सडक दुर्घटनामा परी दुवैको मृत्यु भएको एक वर्षभन्दा बढी पुगेको छ । रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–७ साखमा भएको जीप दुर्घटनामा परी २०७४ मङ्सिर ८ गते दुवैको निधन भएको थियो ।
विसं २०७० चैत ९ गते प्रहरी निरीक्षकमा नियुक्ति भई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत नवीन २०७४ मङ्सिर २ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख भई सुर्खेतमा आएको थियो । विसं २०६९ साउन ४ गते सहायक प्रहरी निरीक्षक पदमा नियुक्ति भएकी अनिता इलाका प्रहरी कार्यालय रानी मोरङमा काम गरेकी थिइन् ।
विसं २०७२ असोज १ मा प्रहरी निरीक्षकमा नियुक्त भई सङ्घीय प्रहरी एकाइ कार्यालय चन्द्रगढी झापामा कार्यरत अनिता केही समयका लागि काजमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा थिइन् । प्रहरी तालीम केन्द्र काठमाडौँमा २०७४ साउनमा भएको प्रहरी निरीक्षकको तालीममा दुवै जनाको भेट भएको थियो । यो भेटघाट सहकर्मी, मिल्ने साथी हुँदै जीवनसाथीमा परिणत हुन पुग्यो ।
उनीहरुको २०७४ मङ्सिर ५ गते सुनसरीको इटहरीमा विवाह सम्पन्न भयो । त्यसको भालिपल्ट बिहान इटहरीबाट हिँडेको त्यो जोडी ७ गते साँझ रुकुम (पूर्व) घरमा पुग्यो । नवीन र अनिताको त्यो जोडी घरमा पुग्दा घरपरिवार र छरछिमेकको खुशीको सीमा थिएन । सबै जनाले गीत गाइरहेका थिए । नाचिरहेका थिए ।
कोही स्वागत सत्कारमा लागिरहेका थिए । त्यहाँ उपस्थित भएका सबै जनाले नवीन र अनिताको जोडीलाई राधा कृष्णको जस्तो मिलेको जोडी भनेर पनि तारिफ गरेको सुनिन्थ्यो । त्यस रात सबैको नाचगान रमाइलोमै बित्यो । उताबाट प्रदेश र सङ्घको चुनावले समय मिच्दैमिच्दै ल्याएको थियो । उनीहरु जतिसक्दो छिटो आफ्नो कार्यक्षेत्रमा फर्कनुपर्ने थियो ।
२०७४ मङ्सिर ८ गते बिहानैबाट सबैसँग भेटघाटमा व्यस्त भएका नवीन र अनिताले त्यसैदिन अपराह्न ४ बजे आआफ्नो कार्यक्षेत्रका लागि यात्रा तय गरे । साँझकोे ७ बजेको थियो । घरबाट खुशीका साथ बिदाइ भएर कर्मथलोतिर लागेको त्यो जोडी जीप दुर्घटनामा परी अब संसारमै नरहेको भन्ने खबर आयो । रुकुम (पश्चिम) मुसिकोट नगरपालिका– ७ साखमा जीप दुर्घटनामा परी उनीहरुको मृत्यु भयो ।
उक्त दुर्घटनामा उनीहरु लगायत सात जनाको ज्यान गएको थियो । जसमा पाँच जना श्रेष्ठ परिवारका नै थिए । एक्कासी सबै खुशी शोकमा परिणत भए । सबैले रुकुम (पूर्व) मा अन्धकारको बादल मडारिरहेको आवास गरे । यस घटनाले रुकुम (पूर्व) मात्र होइन, पूरै देश नै शोकमा डुब्यो । बिहे गरेको चार दिनमै एकसाथ एकै ठाउँमा दम्पती मात्र नभई दुई–दुई जना राष्ट्रसेवक कर्मचारी गुमाएको थियो, देशले ।
भर्खरै विवाह गरेका नव जोडीका र घरपरिवारका सारा सपना र खुशी एकै पलमा खोसिए । सुन्दाखेरी सपना जस्तै अपत्यारिलो लाग्ने त्यो घटना सबैले स्वीकार्नुपर्ने भयो । किनकी त्यही नै सत्य थियो । यस घटनाले महिनौंसम्म सबैको मनमुटु हल्लाइरह्यो । त्यस्तो अवस्थामा यस घटनाले परिवारमा के बितिरहेको छ भनेर त हामी सजिलै कल्पना गर्न सक्छौँ ।
अहिले उनीहरुको मृत्यु भएको एक वर्ष बितेको छ । उनीहरुकै सम्झनामा परिवारले सिस्ने गाउँपालिका– ६ रुकुमकोट आलामा राधा कृष्णको मन्दिर निर्माण गरेको छ । परिवारद्वारा निर्मित उक्त मन्दिरमा आज र भोलि धार्मिक अनुष्ठानका कार्यक्रम हुने बताइएको छ । नवीन श्रेष्ठका बुबा टेकबहादुर श्रेष्ठका अनुसार राधाकृष्ण मन्दिरमा मूल घरबाट मन्दिरसम्मको बाजागाजा भजन कीर्तन, स्वस्तीशान्तिसहित राधाकृष्णको रथयात्रा गरिने छ ।
धार्मिक प्रवचनसहित भजनकृतन र लाखबत्ति प्रज्वलनलगायत भक्तजनबाट राधाकृष्णको दर्शन र पूजाको काम हुनेछ । उनले भने, ‘मन्दिरमात्र होइन, छोरा बुहारीको सम्झनामा उनीहरुको सालिक पनि बनाएका छौँ, रु नौ लाख ५० हजारको लागतमा मन्दिर र सालिक निर्माण गरेका हौं ।’ यस मन्दिरमा दैनिक पूजापाठका लागि मासिक तलबको व्यवस्था गरी एकजना पुरोहित पनि राख्ने उनले बताए । ‘भक्तजनका लागि यो मन्दिर सधैँ खुला रहनेछ,’ उनले भने ।

मुसीकोटमा ओइलाएको त्यो प्रेम
असोज २८ गते नवीन श्रेष्ठले आफ्नो फेसबुक स्टाटस पोष्ट गरे । प्रहरी इन्स्पेक्टर नवीनले फूलको बिम्वमा मृत्युको सत्यबारे लेख्न खोजेझैं लाग्छ त्यो स्टाटस । तिनै नविन स्टाटस लेखेको करिब डेढ महिनापछि आफैं ओइलिए । आफूमात्र ओइलिएनन्, नविनसँगै उनकी नवविवाहिता पत्नीपनि ओइलिइन् । यतिबेला नविनले ‘छरेको अत्तर’ सम्झिएर उनका आफन्त र साथीसंगी भावविह्वल छन् ।
‘नविन उमेरले मेरो दाई भएपनि हामी साथीजस्तै थियौं, एकदमै मिलनसार, हाँसिरहनुपर्ने, हँसाइरहनुपर्ने, अरुलाई सहयोग गर्ने स्वभाव थियो उसको,’ चार वर्ष नविनसँग एउटै कलेज पढेका र वल्लोपल्लो घरमा बसेका दिनेश रावल सम्झिन्छन्, ‘उसले मिठो बोल्थ्यो, कसैलाई बिझाउँदैनथ्यो ।’ उनले त्रिचन्द्र क्याम्पसमा बिएस्सी पढ्दा नविनसँगका सम्झनाहरु असंख्य रहेको सुनाए । श्रेष्ठ रावलभन्दा १ ब्याच सिनियर थिए त्रिचन्द्रमा । यतिबेला दिनेश नवीनसँगका याद संगालेर बसेका छन् ।
२०७४ मंसीर ८ गतेसवारी दुर्घटनामा नवीनको मृत्यु भयो । उनीसँगै दुई दिनअघि बिवाह गरेकी उनकी श्रीमती अनिता प्रधानको समेत एउटै दुर्घटनामा परेर मृत्यु भयो । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम खलंगा आइरहेको जीप दुर्घटना हुँदा श्रेष्ठका दम्पतिसहित सातजनाले ज्यान गुमाएका थिए । श्रेष्ठ दम्पती प्रहरी इन्स्पेक्टर हुन् र उनीहरू नयाँ पोष्टिङमा जाने तयारीमा थिए ।

बिवाहित पत्नीसँग एक रात
त्रिचन्द्रबाट बिएस्सी गर्दागर्दै श्रेष्ठले २०७० चैतमा इन्स्पेक्टरमा नाम निकाले । प्रहरी इन्स्पेक्टरको १५८ औं ब्याचका प्रवेशी हुन् उनी । इन्स्पेक्टरमा नाम निकालेपछि उनले महाराजगन्ज प्रहरी तालिम केन्द्रमा तालिम गरे । श्रेष्ठको ब्याचको तालिम लगभग सकिने बेला प्रहरी इन्स्पेक्टरको १५९औं ब्याच महाराजगन्ज प्रहरी केन्द्रमा तालिमका लागि प्रवेश गर्यो । त्यही हुलमा कतै थिइन् अनिता प्रधान ।
मिजासिली र सर्लक्क जिउ ज्यान मिलेकी प्रधानले नवीनलाई ‘मुहुनी’ लगाइन् । त्यही भेट नै उनीहरुको प्रेमको पहिलो बिन्दु बन्यो । महाराजगन्ज प्रहरी तालिम केन्द्रमा भएको उनीहरुको भेट डोहोरिँदै बिवाह बन्धनसम्म पुग्यो । ‘मामा, तडकभडक गरेर बिवाह गर्न मन छैन, चुनावले गर्दा बिवाहको तयारी पनि राम्रो हुन पाएन, पार्टी पछि दिन्छु, यस्तै भयो नरिसाउनु है,’ नाताले मामा पर्ने तर संगै हुर्किएका साथी लिलामणी गौतमलाई नवीनले अन्तिम फोनकलमा भनेका थिए ।
‘भैहाल्छ, भाञ्जा दाम्पत्य जीवनको शुभकामना, पछि भेटौंला नि,’ नवीनसँगको अन्तिम फोन सम्पर्क सम्झिँदै गौतमले भने, ‘तर त्यो दिन अब कहिल्यै नआउने भयो ।’ नजिकिँदो चुनावका कारण समयमै कार्यक्षेत्र फर्कनुपर्ने भएकाले नवीन र अनिताको बिवाह हतारहतारमा भएको थियो । उनी मंसिर ६ गते ८–१० जनाको संख्यामा जन्ती लिएर अनिताको माइतीघर इटहरी पुगे । हतारहतारमै बिवाह गर्नुपर्ने भएकाले एकदमै नजिकका आफन्त र परिवारका सदस्यमात्र जन्तीमा सामेल थिए ।
बिहे सकेर ६ गते राती नै बेहुली भित्र्याउन उनीहरु रुकुम पूर्वतर्फ लागे । ७ गते बेलुका नवीन र अनिताको नव विवाहित जोडी जन्तीसहित बेहुलाको घर रुकुमकोट पुग्यो । त्यसरात नवीन र अनिताले सँगै बिताए । बिवाहपछिको पहिलो रात नै उनीहरुले सँगै बिताउने अन्तिम रात भइदियो । ८ गते बिहान दुवैजना घरनजिकै कमलदहको मन्दिर दर्शन गर्न गए । ब्रह्माको मन्दिर भनेर परिचित उक्त मन्दिरमा दुवैले सामुहिक पुजा गरे । दिउँसो नवीनले बेहुलीलाई आफन्त चिनाए ।
दिनभर जसो अनिताले नवीनका आफन्तसँग परिचय गरेर बिताइन् । खाजा खाएर उनीहरु साँझ करिब ५ बजे रुकुम पश्चिमको सदरमुकाम खलंगाका लागि घरबाट हिँडे । तर दुर्भाग्य, उनीहरु सवार जीप मुसीकोट नगरपालिकाको कालिमाटीमा दुर्घटना हुन पुग्यो । दुर्घटनापछि नवीनको घटनास्थलमै मृत्यु भएको थियो भने अनिताको रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा देहवसान भयो । जिल्ला अस्पताल पुर्याउँदा अनिताको धुकधुकीसम्म बाँकी भए पनि उपचार हुनै नपाइ उनको मृत्यु भएको थियो ।

ट्राफिक प्रमुखका रुपमा हाजिर हुनै पाएनन्
अनिता रौतहटमा कार्यरत थिइन् । नवीन नवलपरासीको वानगंगा प्रहरी कार्यालयबाट सरुवा भएर कात्तिक अन्तिम साता सुर्खेतमा ट्राफिक प्रमुखका रुपमा खटाइएका थिए । उनले सरुवाको रमानापत्र बुझेका थिए, हाजिर हुनै बाँकी थियो । बिवाह सकेर कार्यालयमा हाजिर हुने सोचमा थिए उनी । तर नयाँ कार्यालयमा हाजिर हुनै नपाइ परलोक भए । नवीन रुकुमको मध्यम वर्गीय परिवारमा जन्मिएका थिए । उनका बाबु रुकुममै स्थायी शिक्षकका रुपमा कार्यरत छन् । दुईवटी आमा भएका नवीनकी सौतेनी आमा केहि वर्षअघि बितिन् । तीन सन्तानमध्ये उनी जेठो छोरा हुन् । साथीभाइले नवीनलाई युवामैत्री र जोशीलो मित्रका रुपमा स्मरण गर्छन् । अब जोशीला नवीन परिचितहरुको सम्झनामा मात्र रहे ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार १९:०७