सूचनाको शक्ति - The Power Of Information

        

भारतीय दूध आयातमा रोक लगाएसँगै व्यवसायीले रोजे छोटी नाका

फाइल तस्वीर

बाँके । नेपालगन्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै दूध भित्रिन दिने नीति बनाएपछि सीधा बाटोबाट दूध भित्रिन छोडेको छ । भारतीय दूध व्यवसायीले भन्सारलाई चुनौती दिदै छोटी नाकाबाट नेपालगन्जमा दूध भित्र्याउन थालेका छन् ।
व्यवसायीले बिहान ल्याइरहेको दूध अहिले दिउँसो ल्याउने गरेका छन् । भारतबाट नेपालगन्जमा भित्रिने दूध गुणस्तरहिन भएको व्यापक गुनासो आएपछि भन्सारले उक्त नीति अघि सारेको हो । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारतबाट दूध ल्याउन रोकेको नभई गुणस्तरीय र भन्सार गरेर भित्र्याउन आग्रह गरेको बताए ।
‘नेपालमा गुणस्तरहीन दूध आइरहेको छ भन्ने व्यापक गुनासो आयो । त्यही भएर हामीले गुणस्तर परीक्षण गरेको रिपोर्ट देखाई भन्सार गरेर दूध भित्र्याउन भनेका छौं, भन्सार प्रमुख निरौलाले भने, गुणस्तरहीन दूध ल्याएर जनस्वास्थ्यमा खेलवाड गर्न त पाइएन नि ?’ भारतबाट नेपालगन्जमा दैनिक एक हजार तीन सय लिटर आउने गर्दछ ।
बजारका अधिकांश घरधनी र रावडी, दही, मिठाई बनाउने पसलेले सस्तो पर्ने नाममा भारतबाट आएको दूध लिने गरेका छन् । भन्सारले कडाई गरेपछि चोरी नाकाबाट दूध ल्याउदा ढिलाई हुने भएकाले यहाँका व्यवसायीहरु समस्यामा परेका छन् । दूधको परीक्षण गर्ने निकाय क्वारेन्टाइन कार्यालय हो । क्वारेन्टाइनसँग दूधको गुणस्तरीय जाँच गर्ने मिल्क एनालाइजर छैन ।
क्वारेन्टाइनसँग ल्याक्टोमिटरसम्म जाँच गर्ने मेसिन भए पनि त्यो भरपर्दो नभएको कार्यालयका प्रमुख डा. शितलबाबु श्रेष्ठ बताउँछन् । सरकारले दूध परीक्षण गर्ने मेसिन नराख्ने र परीक्षण नगरी दूध भित्रिन दिँदैनौ भन्नु नमिल्दो कुरा भएको नेपालगन्जका एक दूध, दही व्यवसायीले बताए ।
नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘हामीकहाँ दैनिक ठूलो मात्रामा भारतबाट दूध आउँछ । मैले दूध परीक्षण गरेर ल्याउन भनेको छु । क्वारेन्टाइनसँग जाँच गर्ने मेसिन छैन । अब कहाँबाट परीक्षण गरेर ल्याउने ?’ सीमावर्ती बजार भएकाले यताको दूध उता र उताको दूध यता आउनु सामान्य नै मानिन्छ । तर, दूधको परीक्षण भने गर्नैपर्छ । गुणस्तरहीन दूध खुवाएर जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन । नेपालगन्जका डेरी सञ्चालकहरुले यो कुरा भन्दै आएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार ११:३३