सुर्खेत । सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकामा विद्युतीकरण गरिने भएको छ । उज्यालो सिम्ता कार्यक्रम अन्तर्गत सामुदायिक विद्युतीकरण विभाग र स्थानीय जनताको लगानीमा विद्युतीकरण गरिने भएको हो । जसका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय विभागबाट गरिएको छ ।
गाउँपालिकाका १२ वडामध्ये ९ वडामा विद्युतीकरण गरिनेछ । वडा नम्बर ५, ६ र ७ मा नेपाल विद्युत प्राधिकरणले नै विद्युत विस्तार गर्ने भएको छ । पहिलो सभाबाट सिम्ता उज्यालो बनाउने लक्ष्य गाउँपालिकाले लिएको थियो । गाउँपालिका र विभागबीच भएको सम्झौता अनुसार १० प्रतिशत बजेट गाउँपालिकाकोतर्फबाट विभागको खातामा जम्मा गर्नुपर्नेछ ।
जसअनुसार तीन करोड रुपैयाँमा गाउँपालिकाले विभागको खातामा जम्मा गर्ने तयारी गरेको अध्यक्ष कविन्द्रकुमार केसीले बताए । ‘सरोकारवालाासँग समन्वय गर्ने काम र लगानीको सम्भावना खोज्ने काम सकिएको छ,’ उनले भने, ‘विभागले कार्यक्रमका लागि आवश्यक बजेट सहयोग गर्ने निर्णय गरेपछि काम अगाडी बढ्ने भएको हो ।’ सिम्ताका सर्वसाधारणले दिएको शेयर र गाउँपालिकाको बजेटबाट १० प्रतिशत बजेट जम्मा भइसकेको छ ।
उक्त बजेट विभागको खातामा जम्मा गरेपछि गाउँपालिकाले विद्युुतीकरणका लागि आवश्यक बजेट पाउने छ । गाउँपालिकाले विभागबाट करिव ३० करोड रुपैयाँ विद्युतीकरणका लागि पाउनेछ । त्यसपछि शेयर प्रमाण पत्र प्रदान गरिने छ । १० प्रतिशत जनसहभागिता र ९० प्रतिशत विभागको आर्थिक सहयोगमा विद्युत विस्तार गर्न लागिएको अध्यक्ष केसीले बताए । विभागले विद्युत निर्माण गरेपछि गाउँलाई हस्तान्तरण गर्नेछ ।
पहिलो गाउँसभाबाट लिएको तीन वटा नितीअनुसार काम भइरहेको उनले बताए । गाउँपालिकाले सबै वडा र गाउँपालिकासम्म पहुचमार्ग निर्माण गर्ने, उज्यालो सिम्ता र जनतासँग सिम्ता गाउँपालिका कार्यक्रम सञ्चालन गर्ने रणनीति सभाबाट पास गरेको थियो । पहुँचमार्ग अन्तरगत वडादेखि गाउँपालिकाका सम्पूर्ण ठाउँमा सडक सञ्जाल पुर्याउने, उज्यालो सिम्ता अन्तरगत विद्युत सेवा विस्तार गर्ने उदेश्य लिइएको थियो ।
यस्तै, आर्थिक, सामाजिक तथा शसक्तिकरणका क्षेत्रमा काम गर्न जनतासँग सिम्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । जनतासँग सिम्ता कार्यक्रम निकै महत्वकांक्षाका रुपमा लिइएको अध्यक्ष केसीले जानकारी दिए ।
सत्यपाटी - ।