काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई गुमराहमा राखेर गृहमन्त्री रामबहादुर थापाले हज कमिटीमा विवादित व्यक्ति नियुक्ति गरेर आलोचित बनेका छन् । गृहमन्त्री थापाले संस्थागत निर्णय विपरीत हज कमिटीको अध्यक्षमा विवादास्पद पृष्ठभूमि भएका शमशेर मियाँलाई नियुक्त गरेका छन् ।
थापाको निर्णयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका मुस्लिम संघ–संगठनहरूले खुलेरै बिरोध गरेका छन् । शमशेर मियाँलाई तस्करी र गलत धन्दाहरू गर्ने व्यक्तिका पनि नाइके अर्थात ‘डन’को रुपमा मुस्लिम नेताहरूले चित्रित गर्ने गरेका छन् । गृहमन्त्री थापाका ‘धुन्दुकारी’ छोरा प्रतीक थापाको दवावमा शमशेर मियाँलाई हज कमिटीको अध्यक्ष बनाएको भनेर नेकपा निकटका मुस्लिम नेताहरूले खुलेआम बताउन थालेका छन् ।
यो निर्णय गराउनमा गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीको पनि विशेष भूमिका रहेको जनाइएको छ । हज कमिटीको अध्यक्ष बन्न शमशेर मियाँले प्रतीक थापालाई मोटो रकम दिएको आरोप छ । नेकपा निकटका मुस्लिम संघरसंगठनले विवादित व्यक्ति शमशेर मियाँलाई अध्यक्ष नबनाउन भनेर प्रधानमन्त्री केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत आग्रह गरेका थिए ।
विवादित छविका शमशेर मियाँलाई हज कमिटीको अध्यक्षबाट हटाएर मुस्लिम संघरसंगठनहरूले सिफारिस गरेका व्यक्तिहरूलाई नै अध्यक्ष बनाउन माग गरेर सत्तारुढ दल निकटका मुस्लिम नेताहरूले दवाव आन्दोलन शुरु गरेका छन् । आवश्यक पर्यो भने मुस्लिम नेताहरू सामूहिक राजीनामा सम्मको तयारी गरेको स्रोतले जनाएको छ ।
शमशेर मियाँले नेकपाका नेता टोपबहादुर रायमाझी र प्रतीक थापालाई प्रभावमा पारेर हज कमिटीको अध्यक्ष कुम्ल्याएको स्रोतले जनाएको छ । शमशेर मियाँलाई मन्त्रिस्तरीय निर्णयबाट अध्यक्षमा नियुक्ति गरिएको थियो । नेकपा निकट मुस्लिम इत्तेहाद संगठन र मुस्लिम मुक्ति मोर्चाले संयुक्त रुपमा बैठक बसी हज कमिटीको अध्यक्षमा ताज मोहम्मद मियाँ र मकसुद अलीलाई नियुक्तिका लागि संस्थागत रुपमा सिफारिस गरेका थिए ।
मुस्लिम इत्तेहाद संगठन तत्कालीन एमाले निकटको हो । मुस्लिम मुक्ति मोर्चा पूर्वमाओवादी केन्द्र निकट मानिन्छ । संस्थागत रुपमा नाम दिएपछि प्रधानमन्त्री ओलीले दुवै संगठनका नेताहरूलाई सिफारिस अनुसार नै गर्ने आश्वासन दिएका थिए । संगठन र मोर्चाको टोलीले नेकपा अध्यक्ष दाहाललाई पनि भेटेर सबै प्रष्ट पारेको थियो । नेपाल–भारत सिमानामा बसेर तस्करी लगातका अबैध धन्दा गर्दै आएको आरोप लागेका शमशेर मियाँका बारेमा नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्ड पनि सकारात्मक थिएनन् ।
मुस्लिम नेताहरूसँगको भेटमै प्रचण्डले शमशेर मियाँको नाम आउँदा ‘त्यो तस्करलाई हज कमिटीको अध्यक्ष बनाउनु हुँदैन’ भनेर भनेको एक मुस्लिम नेताले दैनिक नेपाललाई जानकारी दिए । प्रचण्डले पनि गृहमन्त्री थापालाई शमशेर मियाँलाई अध्यक्ष नबनाउन निर्देशन दिएका थिए । तर, प्रतीक थापा र टोपबहादुर रायमाझीले चलखेल गरेर शमशेर मियाँलाई हज कमिटीको अध्यक्ष बनाएको जनाइएको छ ।
संगठन र मोर्चाका नेतासहित नेकपाका मुस्लिम समुदायका पाँचजना केन्द्रीय सदस्यले प्रधानमन्त्री ओली र दोस्रो तहका अध्यक्ष प्रचण्डलाई भेटेर शमशेर मियाँलाई हज कमिटीको अध्यक्ष नबनाउन आग्रह गरेका थिए । हज कमिटीका अध्यक्ष मोहम्मद सोहेवलाई एक महिना अवधि छँदाछँदै शमशेर मियाँले आर्थिक प्रलोभन दिएर राजीनामा गराउन लगाएका थिए । शमशेर मियाँले मोहम्मद सोहेवलाई दश लाख दिएर राजीनामा गराएको भनेर चर्चा छ ।
टोपबहादुर रायमाझी स्थानीय विकासमन्त्री भएका बेला शमशेर मियाँ मुस्लिम आयोगको ४ वर्ष सदस्य सचिव भएका थिए । आयोगमा रहँदा शमशेर मियाँले ठूलो अनियमितता गरेको आरोप छ । गलत कार्यमा संलग्न रहेको अभियोगमा कपिलवस्तुको कृष्णानगरका स्थानीयले ०६० सालमा कालोमोसो लगाएर शमशेर मियाँलाई लखेटेका थिए । मुस्लिम आयोगको सदस्य सचिव भएका बेला कार्यकक्षमा महिलालाई अभद्र व्यवहार गरेपछि शमशेर मियाँलाई ती महिलाले चप्पलले दनक दिएकी थिइन् ।
सत्यपाटी - ।