सूचनाको शक्ति - The Power Of Information

        

तराईमा ‘सुटआउट’को रणनीतिमा प्रहरी

काठमाडौं । तराईका जिल्लामा पेसेवर रूपमा आपराधिक गतिविधिमा संलग्नविरुद्ध प्रहरीले आक्रामक कारबाही सुरु गरेको छ । केही आपराधिक समूहले ‘टाउको उठाउने’ तयारी गरेको सूचना प्राप्त भएको भन्दै प्रदेश २ र ५ मा प्रहरीले गम्भीर किसिमका अपराधमा संलग्नलाई देख्नेबित्तिकै गोली हान्ने रणनीति लिएको हो ।
प्रहरीको रणनीतिक कारबाहीअन्तर्गत पछिल्लो एक सातामा तीनजनामाथि गोली प्रहार भएको छ । एकजनाको मृत्यु र दुई घाइते भएका छन् । सिरहा र बाँकेमा दुईजनालाई खुट्टामा गोली हानेर पक्राउ गरेको छ भने रूपन्देहीमा एकको ज्यान गएको छ । शुक्रबार सिरहामा एक हतियार कारोबारीलाई गोली प्रहार गरी घाइते बनाएर पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले हतियार ओसारपसारमा संलग्न प्रमोद यादवलाई गोली हानी नियन्त्रणमा लिएको छ । जिल्लाको सुकसैनामा उनलाई पक्राउ गर्न खोज्ने क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाइएको र उनको खुट्टामा चोट लागेको सिरहाका एसपी जीवनकुमार श्रेष्ठले बताए । उनी भारतबाट हतियार ल्याएर बिक्री गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । उनीसँग एउटा पिस्तोलसमेत बरामद भएको छ ।
२ माघमा बाँकेको कोहलपुरमा पनि प्रहरीले एक फरार अभियुक्तलाई गोली हानेर नियन्त्रणमा लिएको थियो । केही दिनअघि दीपक सिंहको घाँटी रेटी हत्या गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ । २९ पुसमा रुपन्देहीमा प्रहरी गोलीबाट केदार सहनी मारिएका थिए । सिद्धार्थनगर नगरपालिका–४ मा प्रहरीसँग उनको दोहोरो भिडन्त भएको थियो ।
मोटरसाइकलमा रहेका सहनीले प्रहरीमाथि नै गोली हानेपछि जवाफी फायरिङ गर्दा उनको मृत्यु भएको रुपन्देहीका एसपी हृदय थापा बताउँछन् । सहनी अपहरणपछि हत्यालगायत विभिन्न अपराधमा संलग्न भई फरार रहेका ‘मोस्ट वान्टेड’व्यक्ति भएको अनुसन्धानमा खुलेको छ । ०६६ मा उनी कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका थिए ।
जनतान्त्रिक मुक्ति मोर्चा आजाद समूहमा आबद्ध रही उनले रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत विभिन्न जिल्लाका व्यापारी धम्क्याएर चन्दा असुली गर्दै आएका थिए । एक समय वाइसिएलमा आबद्ध उनलाई सोही संगठनले नै कारबाहीस्वरूप बाँधेर राखेकोमा फुत्किएर भागेका थिए । उनको ‘इन्काउन्टर’पछि प्रदेश ५ मा आपराधिक गतिविधि धेरै कम हुने प्रहरीको दाबी छ ।
२८ भदौ ०७१ म सहनीको समूहले आकाश गुरुङको अपहरणपछि एक करोड फिरौती मागेका थिए । पछि हत्या गरेको भिडियो उनीहरूले परिवारलाई पठाएका थिए । संघीन किमिसका अपराधमा संलग्नविरुद्ध प्रहरी आक्रामक बनेको प्रदेश ५ का प्रमुख डिआइजी पीताम्बर अधिकारी बताउँछन् । ‘रुपन्देहीमा मुठभेडमा मारिएका सहनी निकै डरलाग्दा अपराधी भएको खुलेको छ,’ उनले भने, ‘यस्ता अपराधीविरुद्ध प्रहरी कडा रूपमै प्रस्तुत हुन्छ ।’

प्रदेश २ मा नयाँ सशस्त्र समूह 
प्रदेश २ मा सशस्त्र समूहले सक्रियता बढाएपछि प्रहरी पनि आक्रामक बनेको स्रोत बताउँछ । ‘सशस्त्र समूहले हतियारको ओसारपसार बढाएका छन्,’ एक उच्च अधिकारी भन्छन्, ‘त्यही कारण प्रहरीले फायर खोल्न थालेको हो ।’ १७ पुसमा सिरहामा एसएमजीसहित स्थानीय चतुरनारायण चौधरी पक्राउ परेका थिए । उनी पछिल्लो समय स्वतन्त्र तराई निर्माण सेना नामक समूहमा आबद्ध भएको खुलेको छ ।
बुधबार मात्र सप्तरीको खडग नगरपालिकामा हवल्दार महेन्द्र सरदारमाथि सशस्त्र समूहबाट गोली प्रहार भएको थियो । विगतमा जयकृष्ण गोइतसँग आबद्ध भएको एक समूहले आपराधिक गतिविधि बढाएको स्रोत बताउँछ । सोही समूहले बुधबार हवल्दारमाथि सप्तरीमा गोली चलाएको प्रहरीको दाबी छ । सो समूहले गत वर्ष बसमा विस्फोटसमेत गराएको थियो । गोइत बिरामी भएपछि उनी निष्क्रिय भएका छन् ।
उनीसँग आबद्ध केही व्यक्ति छुट्टै समूह बनाएर धम्की र असुलीको गतिविधिमा लागेका हुन् । उनीहरू सिरहा र सप्तरीमा सक्रिय छन् । सशस्त्र समूहका नाममा केही व्यक्तिहरूले आपराधिक गतिविधि बढाउन खोजेको र उनीहरूलाई निस्तेज पारिने प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरि पालले बताए । भारतसँगको खुला सिमानाका कारण तराईका जिल्लामा अपराध नियन्त्रणमा कठिनाइ रहेकाले आक्रामक बन्नुपरेको प्रहरी अधिकारीहरूको भनाइ छ ।
तराईमा अपराधी पक्राउ गर्न गोली प्रहार गर्ने प्रहरीको कार्यशैली नौलो भने होइन । विगतमा नयाँ एसपी जानेबित्तिकै आपराधिक समूहका एक सदस्य गोप्य रूपमा मारिने गर्थे । सोही रणीनीतिका कारण तराईका धेरै आपराधिक समूह निष्क्रिय भएको प्रहरी अधिकारीहरू बताउँछन् । तर, केही समूहहरू सक्रिय हुन लागेपछि प्रहरीले फेरि ‘सुटआउट’ रणनीति लिएको छ । चर्चा कमाउन लागि इन्काउन्टर रणनीति लिएको आरोप पनि प्रहरीमाथि लाग्ने गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतवार ०९:०५