सूचनाको शक्ति - The Power Of Information

        

६५ स्थानीय तहमा अझै पुगेनन् बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आथिक वर्ष २०७४/०७५ मा नै वाणिज्य बैंकहरुलाई प्रत्येक स्थानीय तहमा शाखा खोल्न निर्देशन दिए पनि अझै ६५ वटा स्थानीय तहमा शाखा पुगेका छैनन् । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार अझै मुलुकभरिका ६५ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् ।
राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा शाखा स्थापना गर्न भन्दै स्थानीय तह र बैंक किटान गरेरै निर्देशन दिए पनि अझै सबै स्थानीय तहमा शखा स्थापना भएका छैनन् । राष्ट्र बैंकका अनुसार गत मंसिर मसान्तसम्म ६८८ वटा स्थानीय तहमा विभिन्न वाणिज्य बैंकका शाखा पुगेका छन् । अझै ६५ वटामा पुग्न नसकेको राष्ट्र बैंकको विवरण छ ।
प्रदेश १ मा अझै १७ वटा स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन् । कुल १३७ वटा स्थानीय तह रहेको सो प्रदेशमा १२० वटा स्थानीय तहमा विभिन्न वाणिज्य बैंकका शाखा पुगेका राष्ट्र बैंकले जानकारी दिएको छ । त्यस्तै प्रदेश २ का ३ स्थानीय तहमा बैंकका शाखा पुगेका छैन । उक्त प्रदेशमा कुल १३६ वटा स्थानीय तह रहेका छन् ।
प्रदेश ३ का ७ वटा स्थानीय तहमा बैंकका शाखा नपुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । कुल ११९ वटा स्थानीय तह रहेको प्रदेश ३ मा ११२ वटा स्थानीय तहमा विभिन्न वाणिज्य बैंकका शाखा स्थापना भएका छन् । गण्डकी प्रदेशका ३ वटा स्थानीय तहमा शैंकका शाखा पुगेका छैनन् । उक्त प्रदेशमा ८५ वटा स्थानीय तह रहेका छन् भने ८२ वटामा विभिन्न बैंकका शाखा सञ्चालनमा आएका छन् ।
त्यसैगरी १०९ वटा स्थानीय तह रहेको प्रदेश ५ का १०७ स्थानीय तहमा विभिन्न बैंकका शाखा सञ्चालनमा आएका र २ वटामा अझै नपुगेका राष्ट्र बैंकले जानकारी दिएको छ । त्यस्तै ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशका ६२ वटा स्थानीय तहमा बैंकका शाखा पुगेका र ८८ वटा स्थानीय तह रहेका सुदूरपश्चिमका ७२ वटा स्थानीय तहमा विभिन्न बैंकका शाखा सञ्चालनमा आएका नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले सबै बैंकहरुले तोकिए अनुसार स्थानीय तहमा शाखा पु¥याउन लागेका प्रतिक्रिया दिएको छ । बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने कार्य अघि बढाइसकको जानकारी गराएको बताए । बैंकहरुले दिएको जानकारी अनुसार छिट्टै सबै स्थानीय तहमा बैंकका शाखा स्थापना हुने उनको भनाई थियो ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतवार ०८:४४