सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषधको ‘ट्रान्जिट’ बन्दै सीमावर्ती क्षेत्र

बर्दिया । शुक्रबार राजापुरको सतीघाटमा भारतीय नागरिक हरजित सिंहबाट १० ग्राम लागुऔषध बरामद भयो । भारत लखिनपुरका सिंहले लुकाईछिपाई लागूऔषध नेपाल भित्र्याएर कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भीक बयानबाट खुलेको छ । यसअघि गत मंसिर २० गते मधुवन नगरपालिका–७ मा प्रहरीले ३० ग्राम ब्राउनसुगरसहित भारत बहराइच थाना मोतीपुर मिहिपुरुवाका २५ वर्षीय विमलेशकुमार हरजनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
यसैगरी मंसिर तेस्रो साता राजापुर प्रहरीले दुई सय ३९ थान लागूऔषध (नाइट्रोभेट)सहित तीन जना पक्राउ परेका थिए । प्रहरीले उनीहरूमाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाएको छ । जिल्ला प्रहरीको विशेष टोलीले लागुऔषध कारोबारी भारतीय नागरिक सिंह र हरजनलाई गोप्य सूचनाका आधारमा लामो समयदेखिको खोजीपछि पक्राउ गरेको एसपी सुरेन्द्र मैनालीले बताए । ‘भारत र नेपालको खुला सिमानामा सेवनकर्ता र कारोबारी चहलपहल हुने गरेको सूचना प्रहरीकहाँ आएको थियो,’ उनले भने, ‘प्रहरीको विशेष टोलीले कारबारी पक्राउ गर्न गर्न प्रहरी सफल भयो ।’
उनका अनुसार सिंहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा थप अनुसन्धान भइरहेको छ । प्रहरीको प्रारम्भिक बयानमा भारतीय नागरिक हरजनले र सिंह सीमावर्ती क्षेत्रका लामो समय सेवनकर्तालाई ब्राउन सुगर बिक्री गर्दै आएको दाबी गरिएको छ । उनको भनाइ अनुसार प्रहरी नियन्त्रणमा रहेका ती दुवैले ८० किलोमिटर खुला सिमानाको फाइदा उठाएर कारोबार गर्ने गरेको थिए । लागुऔषधका लागि मधुवन, गुलरिया र बढैयातालको सीमावर्ती क्षेत्र संवेदनशील रहेको उनले जानकारी दिए । भारत–नेपालको सीमावर्ती क्षेत्र लागुऔषध कारोबारीहरुका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ ।
सीमावर्ती क्षेत्रबाट पक्राउ पर्ने लागुऔषध कारोबारीमध्ये अधिकांश भारतीय हुने गरेको प्रहरीको भनाइ छ । प्रहरीद्वारा पक्राउ गरिएकाहरू ५० ग्राम लागुऔषध बरामद गरिसकेको तथ्यांकमा देखिन्छ । ३० ग्राम ब्राउन सुगरको बजार मूल्य तीन लाख रुपैयाँ पर्ने प्रहरी अनुमान छ । लागुऔषध कारोबारमा संलग्न अन्य १० जनालाई कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । बरामद लागुऔषध करिब हजारजना सेवनकर्ताले प्रयोग गर्न सक्ने प्रहरीको भनाइ छ । यसअघि पनि प्रहरीले लागुऔषधसहित पटकपटक प्रयोगकर्तालाई पक्राउ गर्दै आएको छ ।
प्रहरीका अनुसार पछिल्लो समय जिल्लाका सहरी क्षेत्र र ग्रामीण बस्ती सचेतना अभियान सञ्चालन गरिए पनि प्रयोगकर्ता बढ्दै गएको र उनीहरूमध्ये अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका छन् । २५ ग्राम लागुऔषध बरामद भए १० देखि १५ वर्षसम्म कैद गर्ने कानुनी व्यवस्था छ । प्रहरीको तथ्याकंमा तीन महिनाको अवधिमा ११ वटा मुद्दामा १८ जनालाई पक्राउ गरी कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाएको उल्लेख छ ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार १३:२७