सूचनाको शक्ति - The Power Of Information

        

भण्डारण केन्द्र निर्माण हुने भएपछि कृषक हर्षित

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा ‘कैराती बीउ सङ्कलन तथा प्रशोधन भण्डार केन्द्र’ निमार्णको काम शुरु गरिएपछि त्यहाँका किसान हर्षित भएका छन् । ‘अब हामीलाई बीउ ल्याउन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुन्छ भन्ने लागेको छ,’ कृषक सोहन यादवले भने । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विस्तारै गाउँको विकास र सामाजिक सुधारका काम पनि हुँदै आएको यादवको ठम्याइ छ ।
गाउँपालिकाको–२ कैरातीपुरवास्थित कोटही मातामा रहेको करीब १० कठ्ठा जग्गामा तीन वर्षे योजनाअन्र्तगत करीब रु साढे दुई करोडको लागतमा भण्डारण केन्द्रको निर्माण कार्य शुरु गरिएको हो । सो गाउँका गोविन्दप्रसाद कैरातीले आप्mनो निजी जग्गा दान दिनु भएपछि भण्डारण केन्द्र निर्माण सम्भव भएको हो । किसानले किनेर ल्याएको नभई आफैँ उत्पादन गरेका बीउ मात्र केन्द्रमा भण्डारण गर्न पाइने प्रावधान राखिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
‘गाउँपालिकाका किसानले समयमा कृषि बीउबिजन नपाएर राम्रो अन्न उत्पादन गर्न नसकेको गुनासो बढ्न थालेपछि भण्डारण केन्द्र निर्माण गर्ने निर्णय गाउँ कार्यपालिकाले गरेको हो,’ उनले भने । उक्त परियोजनाअन्तर्गत गोदाम, बीउ सुकाउने प्लेट फर्म, स्टोर भवन, तीन कोठासहितको कार्यालय, पर्खाल र खानेपानी र शौचालय निर्माण गरिने छ । गाउँपालिकाले केन्द्र निर्माणका लागि पहिलो चरणमा रु ४० लाख बजेट विनियोजन गरेको छ । भण्डारण केन्द्रमा भण्डै ३०० मेट्रिक टन बीउ भण्डारण गर्न सकिने छ ।
केन्द्रले बीउ भण्डारण, प्रशोधन, उत्पादन गरी अन्यत्रसमेत बिक्रीका लागि निर्यात गर्ने अध्यक्ष चौधरीले बताए । भण्डारण केन्द्रमा धान, गहुँ मुख्य बालीका रुपमा राखिनेछ भने मकै र मसुरो पनि भण्डारण गरिने जनाइएको छ । गाउँपालिकाले कृषि बाली सिँचाइका लागि सोही स्थानमा बोरिङसमेत जडान गरेको छ । बोरिङले किसानलाई खेतबारी सिँचाइका साथै गाउँटोलवासीका लागि खानेपानीको सुविधासमेत विस्तार गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेको कोटहीदेवी माताको मन्दिर भत्किएर जीर्ण अवस्थामा रहेकाले पुनःनिमार्णको काम थालिएको छ ।

दूध आयातमा पूर्ण रोक
बाँकेको सीमावर्ती भारतीय गाउँबाट नेपाल भित्रिने दूधको अवैध आयातमा पूर्णरुपमा रोक लगाइएको छ । नेपालगन्ज भन्सारले दूधको आयात गर्न पूर्णरुपमा रोक लगाएपछि यहाँका दूध उत्पादक कृषक खुसी भएका छन् । केन्द्रीय नीतिअनुसार नेपालगन्ज भन्सारले मुख्य भन्सार विन्दु र अन्य नाकाबाट अवैध दूध आयातको कार्य रोकेको हो । यसअघि भन्सारको मूलद्धारबाटै दैनिक सयौँ लिटर दूध नेपालगन्ज भित्रिने गरेको थियो । भारतबाट दूध आयातले गुणस्तरीयता र बिक्री वितरणको समस्याले नेपाली किसानलाई मर्का परेको व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार ०८:३१