राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी थारू बस्तीमा बडघर(मुखिया)का रूपमा १८औँ पटक लवारीराम डगौरा चयन भएका छन् । गाउँको सफल नेतृत्वबहन गर्न सक्षम भएकै कारण गाउँका बासिन्दाले लवारीरामलाई विसं २०५७ देखि लगातार बडघरका रूपमा चयन गर्दै आएका हुन् गाउँको नेतृत्वकर्ताका रूपमा थारू समुदायले प्रतिवर्ष बडघर चयन गर्ने गर्छन् ।
बडघरले गाउँको विकाससँगै विवाह तथा परम्परागत सांस्कृतिक कार्यक्रममा नाच, पूजापाठ, अंशबण्डा, झैझगडा मेलमिलाप र गाउँको रीतिथिति बसाल्ने कामा आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्दछन् । स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधि चयन भए पनि थारू गाउँमा बडघरको भूमिकालाई अहिले पनि महत्वपूर्ण मानिदै आइएको पाइन्छ । जनप्रतिनिधिले पनि गाउँको विकासका लागि श्रमदान जुटाउन बडघरमार्फत सहायता लिनुपर्छ ।
समुदायमा रहेको सकारात्मक अभ्यास, परम्परा र संस्कृति संरक्षणका लागि योगदान पु¥याउन र प्रजातान्त्रिक प्रक्रियामा आधारित बडघर प्रथालाई जीवन्त राख्नुपर्नेमा थारू अगुवा नरेन्द्रप्रसाद चौधरी जोड दिन्छन् । ‘यसैको माध्यमबाट समाजमा शान्ति सद्भाव र विकास सम्भव छ,’ उनी भन्छन् । मठमन्दिर निर्माणमा सरकारले बजेट विनियोजन गर्ने परिपाटी रहे पनि थारू समुदायको संस्कृतिसँग जोडिएका भुइँहार (देउथान) र कला संस्कृति जर्गेनाका लागि बजेट विनियोजन गर्ने अभ्यास देखिँदैन, त्यसैले यसका लागि स्रोत जुेटाउन वडघरमार्फत अभियानकै रुपमा काम अघि बढाउनुपर्नेमा उनको जोड छ ।
‘थारू समुदायमा संस्कृति, साहित्य, कला, रीतिरिवाज, चालचलन र वेशभूषालगायत विशिष्ट पक्षलाई पर्यटनसँग जोड्न र पहिचानलाई जोगाउनका लागि बडघर प्रथाको निरन्तरताले मात्रै सम्भव छ,’ उनी भन्छन् । बडघरले थारू समुदायमा रहेको सामाजिक तथा सांस्कृतिक कार्यको संयोजन, संरक्षण तथा व्यवस्थानको अगुवाइ गर्दछ । भलमन्सा, बडघर र महतौँ प्रथालाई थारू समुदायले सदियौँदेखि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै आएको पाइन्छ । आफूहरूले परम्परा, रीतिरिवाज, जीवनशैली, संस्कृतिको संरक्षणका लागि सफल अभ्यासका रुपमा अनुशरण गर्दै आएको बडघर डगौरा बताउँछन् ।
‘यस समुदायको विभिन्न परम्परागत चालचलन, संस्कृति तथा परम्परागत वस्तुहरु जसले संस्कृति र परम्पराको संरक्षणका साथै आर्थिक समृद्धिमा टेवा पुर्याउने कार्य गर्दछ त्यसलाई बचाउन बडघरको महत्वपूर्ण भूमिका हुने गरेको छ,’ उनी भन्छन् । थारूहरुको एउटै समुदाय भए पनि उपथर, लवाइखवाइ र वेशभूषामा समेत फरक रहेको पाइन्छ । विवाह, अंशवण्डा, सांस्कृति समारोहको अयोजना, जनश्रममा आधारित विकास निर्माणकार्यमा पनि थारु समुदायमा बडघरविना सम्भव देखिँदैन । बडघरकै अगुवाइमा यी कार्य गरिने भएकाले यस प्रथालाई निरन्तरता दिन स्थानीय तहमा अनिवार्य स्थान निर्धारण गरिनुपर्नेमा व्याकवार्ड एजुकेसन सोसाइटी (वेस) का केन्द्रीय सदस्य मायाराम चौधरी जोड दिन्छन् ।
बडघर प्रथाले थारू समुदायलाई सङ्गठित गर्ने, सामाजिक सद्भाव कायम गराउने र समुदायको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने भएकाले यस प्रथाको सवलीकरण तथा प्रवद्र्धनका लागि कार्य अगाडि बढाउनु नितान्त जरुरी रहेको उनको भनाइ छ । प्रत्येक वर्ष गाउँ भेलाले छनोट गर्ने बडघरले आफ्नो समुदायको सुशासन झैझगडा, अंशवण्डा, जग्गाको साँध सिमाना, पानी कुलो विवाद, लेनदेनका विषयमा पीडित पक्षले लिखित वा मौखिक रुपमा जानकारी गराए बैठक बसी पीडित र पीडक दुबै पक्षको ‘जित–जित’को सिद्धान्तअनुसार फैसला गरी समाजमा सद्भाव कायम गर्ने गरिन्छ ।
मेलमिलापको अभ्याससँगै गाउँको सीमा सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षा र फौजदारी अभियोग लागे स्थानीय प्रशासनसँग समन्वय गर्ने कार्यसमेत बडघरले गर्दै आएकाले यस प्रथालाई कानुनीरूप दिनुपर्ने थारू बुद्धिजीवीहरुको भनाइ छ । उक्त समुदाय दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्दै आएका छन् । पूर्वी तराईका जिल्लामा समेत उक्त जातिको बसोबास छ । विसं २०६८ को जनगणनाअनुसार नेपालको कूल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ मध्ये थारूको संख्या १७ लाख ३७ हजार ४७० छ । जुन कूल जनसंख्याको सात प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । रासस
।