जुम्लामा हिउँ परेपछि पुस महिनामै स्याउ बगैँचामा स्याउका बोटलाई काँटछाँटसँगै बोटमा किरा लाग्न नदिन औषधि छर्किँदै कृषक ।
जुम्ला । जिल्लामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्न थालिएको छ । यहाँ हिउ परेपछि पुस अन्तिम सातादेखि स्याउका बिरुवा काँटछाँट शुरु भएको हो । स्याउ सुपरजोन जुम्लाले स्याउ काँटछाँटका लागि किसानलाई आग्रह गरेको छ । जिल्लाका आठै स्थानीय तहका हरेक बस्तीका किसान दैनिक स्याउका बिरुवा काँटछाँट व्यस्त छन् ।
जिल्लामा रहेका २१८ बस्तीमा बसोबास गर्ने २० हजार घरधुरीमध्ये १६ हजार घरधुरीले स्याउका बिरुवा लगाएका छन् । तातोपानी गाउँपालिका–६ का किसान सिंह रावतलाई अहिले स्याउ काँटछाँटमा भ्याइनभ्याइ छ । माघको चिसोमा पनि उनी आफ्नो स्याउका बिरुवा काँटछाँट सकाएर गाउँको सामूहिक स्याउखेतीमा काँटछाँटमा सक्रिय भएका छन् ।
स्थानीय कृषि स्रोत व्यक्तिसमेत रहेका रावतले गाउँका अन्य युवालाई समेत साथमा लिएर स्याउका बिरुवा काँटछाँट प्रक्रिया र विधि सिकाइरहेका छन् । तातोपानी गाउँपालिका–६ रावतबाडा बस्तीको सामूहिक स्याउ खेतीमा एक हजार स्याउ, ओखर र आरुका बिरुवा छन् । स्कूल बिदाको समयमा स्याउसम्बन्धी जानकारी स्थानीय कृषि स्रोत व्यक्तिले दिइरहेको विद्यार्थी रमेश कामीले बताए ।
यस्तै जिल्लाको पातारासी गाउँपालिका–६ उर्थुका स्याउ किसान मुनबहादुर विष्ट पनि स्याउ बगैचा व्यवस्थापनमै व्यस्त छन् । एघार सय स्याउका विरुवा लगाएका उनले यस वर्षमात्रै रु १२ लाख आम्दानी गरे । स्याउ सुपरजोनका निमित्त कृषि विकास अधिकृत जोगेन्द्र कान्दूले स्याउको काँटछाँट गर्ने, बगैँचा निरीक्षण गर्ने र बगैँचा व्यवस्थापनका विषयमा कृषकलाई सहजीकरण पनि गर्दै आएको बताए । प्रत्येक वर्ष सुपरजोनले अभियानकै रुपमा कार्यक्रम चलाउने गरेको छ ।
बिरुवालाई स्वस्थ बनाउन र रोग किराको सङ्क्रमणबाट बचाउनका लागि पनि काँटछाँट अभियान थालिएको उनको भनाइ थियो । ‘वर्षभरि स्याउको गुणस्तरीय फल उत्पादनका लागि सचेतना पनि फैलाउँदै आएका छौँ,’ अधिकृत कान्दूले भने, ‘जिल्लाका सबै किसानलाई समेट्न पनि अभियान थालिएको छ । साथै स्याउको बिरुवालाई रोेग किराको सङ्क्रमणबाट बचाउनका लागि वोडोपेष्ट लगाउने काम पनि भइरहेको छ ।’ माघ १५ गतेदेखि फागुन १५ गतेसम्म बिरुवा काँटछाँट र बोडोपेष्ट लगाउन उपयुक्त समय मानिन्छ । यसपटक जुम्लाबाट करिव रु २३ करोडको स्याउ विक्री भएको थियो ।
।