सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित डगौरा थारू समुदायले सर्वसम्मत रुपले अगुवा चुनेका छन् । थारू कल्याणकारिणीसभा सुर्खेतले माघी मिलन कार्यक्रमका अवसरमा २५ थारू गाउँमा महतवा र अगुवा चुनिएको जानकारी दिएको हो ।
यस वर्षका लागि वीरेन्द्रनगर नगरपालिका १० मा चन्द्रबहादुर थारू महतवा र बुद्धि चौधरी अगुवा चुनिएका छन् । त्यस्तै नयाँ गाउँमा बालकृष्ण चौधरी, पदमपुरमा दुर्गाबहादुर थारू महतवा र गङ्गाराम चौधरी अगुवा, पातलगङ्गामा धनिराम चौधरी महतवा र टमबहादुर चौधरी अगुवा चुनिएका छन् ।
गाउँमा कुनै विषयमा बेमेल, झैझगडा भए महतवाको अध्यक्षतामा मिलाउने गरिन्छ । सुर्खेत कर्णाली प्रदेशमै थारू को बसोवास रहेको एक मात्र जिल्ला हो । यहाँका थारू समुदायले माघ २ देखि अगुवा चुन्न शुरु गर्दछन् । सभाका सल्लाहकार जागुराम थारूले आफूहरुले माघलाई नयाँ वर्षका रुपमा मनाउनुका साथै अगुवा पनि चुनिने बताए ।
‘नयाँ अगुवा र महतवाले समुदायका लागि नयाँ योजना बनाउनुहुन्छ,’ उनले भने, ‘यसअघि बनाइएका राम्रा नीति–नियम लागू गराउने दायित्व पनि अगुवाहरुकै हो ।’ राम्रो काम गर्नेलाई निरन्तरता दिने प्रचलन छ ।
सङ्ग्राहालयलाई सहयोगको आह्वान
कल्याणकारिणी सभा सुर्खेतले वीरेन्द्रनगर–९ कालीमाटीमा थारू सङ्ग्राहालय निर्माणका लागि सहयोग गर्न आह्वान गरेको छ । माघी मिलन कार्यक्रममा थारू अगुवाले कर्णाली प्रदेशमै आफूहरु अल्पसंख्यक हुँदा राजनीतिक र सामाजिक रुपमा पछाडि परेको बताए ।
वीरेन्द्रनगर–१० का वडा सदस्य सुनिता चौधरीले पछिल्लो पुनःसंरचनामा थारू गाउँ छिन्नभिन्न हुन पुगेको बताए । थारू बाहुल्य वडा विभाजित हुँदा चुनाव जित्न मुस्किल भएको उनको गुनासो थियो । उनले कालीमाटीमै निर्माण हुने लागेको थारू संग्राहालयलाई सहयोग गर्न स्थानीय र प्रदेश सरकारलाई आग्रह गरे ।
थारू अगुवा जागुरामले यो समुदायको उत्थानबिना समृद्ध नेपाल निर्माण हुन नसक्ने बताउनुभयो । वीरेन्द्रनगर–९ का वडाध्यक्ष सुरेशकुमार मानन्धरले थारू जातिको सामाजिक तथा राजनीतिक प्रतिनिधित्वका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा थारू वेषभूषासम्बन्धी वक्तृत्वकला, मघौटा नाच र ढिकुरी खाने प्रतियोगिता सम्पन्न भएको थियो ।
।