सूचनाको शक्ति - The Power Of Information

        

द्वन्द्व बिर्साउन शान्ति चित्र

रुकुम (पूर्व) । द्वन्द्वकालमा सबैभन्दा बढीले ज्यान गुमाएका भूमे गाउँपालिका–६ महतमा शान्तिको सन्देश प्रवाह गर्न गौतमबुद्धको मूर्ति र लडाईं शृंखलालाई चित्रमा कुँदिएको छ । तत्कालीन माओवादी लडाकुले १९ वर्षअघि महत प्रहरी चौकी आक्रमण गरेर हातहतियारलगायत बन्दोबस्तीका सामान नियन्त्रणमा लिएका थिए भने प्रहरी नायब उपरीक्षक ठूले राईलाई अपहरण गरेका थिए ।
विसं २०५६ असोज ०६ गते भएको प्रहरी चौकी आक्रमण र प्रहरी नायब उपरीक्षक अपहरणको उक्त घटनाले ठूलो चर्चा पाएको थियो । अब त्यही लडाईं शृंखलालाई भित्तामा कुँदिएका चित्रमा हेर्न पाइने भएको छ । भूमे गाउँपालिकाले त्यस बेलाका सबै गतिविधि समेटिएको चित्र शृंखला लडाईं भएकै भूमे–६ महतमा कुँदेर राखेको छ । यसका साथै गौतम बुद्धको शालिक पनि निर्माण गरेको छ ।
प्रहरी चौकी कब्जा गर्दाका सबै गतिविधि समेटिएको उक्त आक्रमणको झल्को दिने युद्ध चित्र कुँद्ने आदि काम सकिएको छ । ‘चौकी आक्रमणमा आउँदादेखि अन्तिमसम्मका गतिविधि समेटिएर चित्र कुँदेको छ,’ वडा नं ६ का अध्यक्ष देवबहादुर बुढाले भने । गाउँपालिकाले २०७४÷०७५ को बजेटबाट चित्र कुँद्न शुरु गरेको थियो ।
पहिलो चरणमा रु १० लाख लगानी गरेर निर्माण थालिएको थियो । चौकी आक्रमणका बेलामा सबै क्रियाकलाप तस्बीरमा कुँद्न त्यति रकमले नपुग्ने भएपछि यस वर्ष पनि थप बजेट विनियोजन गरी काम गरिएको गाउँपालिकाले जनाएको छ । राज्य र माओवादी पक्षले गोली चलाइरहेको, विद्रोही पक्षबाट हतियार बुझाउन अनुरोध गरिरहेका दृश्य कुँदिसकिएको छ ।
अब आक्रमण गर्न विद्रोहीतर्फबाट लडाकु आइरहेको, चौकीमा प्रहरी बसेको, आक्रमणपछि हतियारलगायत अन्य बन्दोबस्तीका सामग्रीसहित प्रहरी अधिकृत तथा जवानलाई कब्जामा लिएका दृश्य बनाउन बाँकी रहेका छन् । घटनाले चर्चा पाउनाका कारण थप प्रष्ट पार्न चौकी आक्रमण र कब्जाका सम्पूर्ण चित्र कुँद्न लागिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए ।
‘महत प्रहरी चौकी आक्रमण र प्रहरी नायब उपरीक्षक राई अपहरणको चर्चा अन्तर्राष्ट्रियरुपमै भएको थियो । अध्यक्ष बुढामगरले भने, ‘त्यही यथार्थलाई जिवन्त बनाउन युद्ध चित्र कुँदिएको हो ।’ महतसम्म पुग्ने स्वदेशी तथा विदेशी पाहुनाले चौकीमा भएको आक्रमणको अवस्थाबारे सजिलै प्रत्यक्षरुपमा बुझ्न पाउन र यसकै माध्यमबाट पर्यटनको प्रवद्र्धन गर्न सकियोस् भनेर चित्र कँुदिएको उनको भनाइ छ ।
महतमै गौतम बुद्धको अर्धकदको मूर्ति र सशस्त्र द्वन्द्वका क्रममा मारिएकाको नाम पनि कँुदिएको छ । विगतको सशस्त्र युद्धका क्रममा सबैभन्दा बढी मानवीय क्षति भएको भूमे गाउँपालिका–६ महत साविकको महत गाविस हो । धेरैले ज्यान गुमाएको ठाउँबाट शान्तिको सन्देश प्रवाह गर्न मूर्ति स्थापना गरिएको अध्यक्ष बुढामगरले बताए ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार १९:२१