सूचनाको शक्ति - The Power Of Information

        

सवारी चालकको स्वास्थ्य जाँच्दै ट्राफिक प्रहरी

बाँके । पूर्वपश्चिम राजमार्गमा गाडीहरुको ओहोरदोहोर निरन्तर थियो । साना तथा ठूला गाडीहरु कोही पूर्व त कोही पश्चिमतर्फ दौडिरहेका थिए । बैजनाथ गाउँपालिका–५ मा पर्ने सम्झना चौकमा आज बिहीबार विहान एकाएक ट्राफिक प्रहरीले सवारी साधनहरु रोक्न थालेपछि सवारी चालकहरुलाई लाग्यो आज त चेकजाँच निकै कडा रहेछ ।
ट्राफिक प्रहरीले सवारी रोकपछि सवारी चालकहरुले आफ्नो गन्तव्यका बारेमा बताउन सुरु गर्थे । ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायसहितको टोलीले सवारी साधनहरु रोकिरहेको थियो भने डाक्टरहरुको टोली पनि सडक छेउमै थियो । अचानक दलबलसहितको टोलीले सडकमा गाडी रोक्न थालेपछि चालकहरु गाडीका कागजपत्र खोतल्न सुरु गर्थे ।
त्यहाँ ट्राफिक प्रहरीले केही भन्न नपाउँदै सवारी साधनका कागजपत्र, सवारी चालक अनुमतिपत्र निकालेर ट्राफिक प्रहरीलाई आफु जाने गन्तव्यका बारेमा बताउन सुरु गर्थे । तर ट्राफिक प्रहरीले भने कागजपत्र नहेरी सवारी चालकलाई गाडीबाट झर्न आग्रह गर्दै झारेर नजिकै रहेको स्वास्थ्य शिविरमा लगेर स्वास्थ्य परीक्षण गरेर पुनः फेरि गाडीमै फर्काइदियो ।
‘सडकमै आज स्वास्थ्य परीक्षण गरियो,’ एक चालकले भने ‘धेरै भएको थियो डाक्टरलाई देखाउन पाएको थिइनँ, आज आँखादेखि प्रेसरसम्म परीक्षण गराउन पाएँ ।’ ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा आज बिहीबार पूर्वपश्चिम राजमार्गमा ओहोरदोहोर गरिरहेका सवारी साधनका चालकलाई यसैगरी स्वास्थ्य परीक्षण अभियान गरिएको छ ।‘सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालकको स्वास्थ्य परीक्षण सडकमै गराउन थालेको हो,’ प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले भने, ‘यसले चालकलाई रिफ्रेस पनि हुने स्वास्थ्य अवस्थाको जानकारी पनि हुने भएकाले सडकमै परीक्षण गरिएको हो ।’ सवारी चालकहरुले सडकमै विना झण्झट स्वास्थ्य परीक्षण गर्न पाएको खुशी व्यक्त गरे ।
एक चालकले भने, ‘हामी अस्पताल गएर लाइनमा बस्नुपथ्र्यो तर आज सजिलो र छिटो बाटोमै स्वास्थ्य परिक्षण गर्न पाइयो । बरु यसलाई नियमित गराइदिए हामी आभारी हुने थियौँ ।’ दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी चालक र परिचालकले आँखा र प्रेसर सम्वन्धी परिक्षण गरिएको प्रहरी निरिक्षक रोकायाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य परिक्षणमा १९८ जनाले स्वास्थ्य जाँच गरेका छन् ।
शिविरमा बस चालक ९८ जना, ट्रक ५३, जीपकार ३७, ट्रयाक्टर ४ र टेम्पो चालक ६ जना चालक र परिचालकले स्वास्थ्य परिक्षण गराएका छन् । उनीहरुमध्ये ६ जनामा आँखा कमजोरी र ३६ जनामा प्रेसरको समस्या देखिएको थियो । सवारी चेकजाँच मात्र नभई दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि सचेतनामूलक अन्य कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ ।
स्वास्थ्य शिविरमा कोहलपुर मेडिकल कलेज कोहलपुरका डा देवेन्द्र आचार्य, सामुदायिक स्वास्थ्य चौकी बनकटवाका पृथ्वीनाथ योगी, न्यौपाने आँखा उपचार केन्द्र कोहलपुरका हरिप्रसाद न्यौपाने, संगम मेडिकल हल संगमचौकका कृष्ण पौडेलसहितको टोलीले विभिन्न सवारी साधनका चालक तथा परिचालकहरुको स्वास्थ्य परिक्षण गरेको हो ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार १७:२८