सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा २६ किलोमिटर ग्रामीण सडक निर्माण

हुम्ला । जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् । सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना तय गरेरै सडकको निर्माण गरेका हुन् ।
सडक सञ्जाललाई गाउँपालिकाको विकासका लागि पहिलो प्राथमिकतामा राखेको सिमकोट गाउँपालिकाले गत वर्ष पाँच किमी निर्माण गरेर हाल सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए ।
अहिले निर्माण भएको सडकमा हेलिकप्टरबाट ढुवानी गरिएका निजी गाडी सञ्चालनमा आएको अधिकृत दर्जीले बताए । यसरी गत वर्ष निर्माण भएका सडकमा सिमकोट बुराउसे बरगाउँ खण्ड र सिमकोट डाँडाफया लिङ्करोड रहेको उनले जानकारी दिए ।
यो सँगै सिमकोट बजारमा पनि सडक चौडा गर्ने कार्य सम्पन्न भएको दर्जीले बताए । यस आर्थिक वर्षमा सात किमी ग्रामीण सडक निर्माण गर्ने कार्यक्रम सिमकोट गाउँपालिकाले गरेको छ । गत आर्थिक वर्ष नाम्खा गाउँपालिकाले पनि सात किमी ग्रामीण सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर नेपालीले बताए ।
यो वर्ष नाम्खा गाउँपालिकाले यस्ता ग्रामीण ‘लिङ्करोड’लाई प्राथमिकतामा राखेको अधिकृत नेपालीले बताए । यस आर्थिक वर्षमा निर्माण भएका सडकमा गाउँपालिकाले आफ्नै सवारी गुडाउने लक्ष्य लिएअनुसार सवारी खरिद प्रक्रिया पनि अगाडि बढाएको नाम्खा गाउँपालिका अधिकृत नेपालीको भनाइ छ ।
गत आर्थिक वर्षमा सात किमी ग्रामीण सडक निर्माण गर्ने अर्काे गाउँपालिका खार्पुनाथ रहेको अध्यक्ष कर्ण रावलले बताए । यसमा खार्पुदुर्पा हुँदै चङ्खेली र नल्नलेख सडक निर्माणकार्य भइरहेको अध्यक्ष रावलले बताए । जिल्लाकै दक्षिण क्षेत्रको ताँजाकोट गाउँपालिकाले पनि गत आर्थिक वर्षमा पाँच किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए ।
जिल्लाका सात गाउँपालिकामध्ये तीन चङ्खेली, सर्केगाड र अदानचुली गाउँपालिकाले गत वर्ष सडक निमार्णमा काम नगरेको भए पनि यो वर्ष विस्तृत परियोजना प्रतिवेदन तयार गरेर ग्रामीण सडक निर्माणकार्यलाई प्राथमिता दिने जनाएका छन् जसमा चङ्खेलीले सात, सर्केगाडले १४ किमी र अदानचुलीले पाँच किमी सकड निर्माणकार्य गर्ने भएका छन् । यस्तै अन्य चार गाउँपालिकाले केन्द्र र वडा कार्यालय जोड्ने सडक निर्माणका योजना तय गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार १३:३७