सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा बीउ संकलन केन्द्र निर्माण

बाँके । डडुवा गाउँपालिकामा दुईदेखि तीन सय मेट्रिक टन बीउ भण्डारण क्षमताको बीउ संकलन केन्द्र निर्माण प्रक्रियाअघि बढाइएको छ । गाउँपालिकाको सहयोगमा क्रमागतरुपमा बार्षिक बजेट थप गरि निर्माण सम्पन्न गरिने भएको छ ।
करिब साढे दुई करोडको लागतमा निर्माण गर्न लागिएको उक्त केन्द्र गाउँपालिका–२ कैराँतीपुर्वास्थित कोटही मातामा रहेको करिब १० कठ्ठा जग्गामा निर्माण सुरू भएको सब इन्जिनियर मदनेश्वर झाले बताएका छन् । निर्माण हुने भण्डारण केन्द्रले बीउ भण्डारण, प्रशोधन, उत्पादन गरि अन्यत्रसमेत बिक्रीका लागि निर्यात गरिनेछ । केन्द्रमा धान, गहुँ मुख्य बालीका रुपमा राखिनेछ भने मकै र मसुरो पनि भण्डारण गरिने जनाइएको छ ।
भण्डारण केन्द्रको बुधबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरेका छन् । गाउँपालिकाको उक्त परियोजना अन्तर्गत वेयर हाउस (गोदाम), बीउ सुकाउने प्लेट फर्म, स्टोर भवन, तीन कोठा कार्यालय, बाउण्ड्री र खानेपानी शौचालय निर्माण गरिने छ । गाउँपालिकाले कृषि बाली सिंचाईका लागि सोही स्थानमा बोरिङ्ग समेत जडान गरेको छ । बोरिङ्गले किसानलाई खेतबारी सिचाईका साथै गाउँटोलबासीका लागि खानेपानीको सुबिधासमेत बिस्तार गरिने गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष चौधरीले किसानहरुले समयमा कृषि बीउबीजन नपाएर राम्रो अन्न उत्पादन गर्न नसकेको अवस्थामा भण्डारण केन्द्रले समयमा बीउ उपलब्ध गराई उत्पादनमा बृद्धि गर्न सहयोग पुग्ने बताए । किसानले आफै उत्पादन गरेका बिउलाई यहाँ भण्डारण गरिन्छ र प्रशोधन गरि उपलब्ध गराइन्छ, र अन्यत्र पनि बीउ बिक्रीका निर्यात गरिने उनले बताए । गाउँपालिकास्तरमा यो पहिलो पटक यस्तो ठुलो परियोजना शुरु भएपछि किसानहरुसमेत खुशी भएका छन् । स्थानीय गोविन्दप्रसाद कैराँतीले केन्द्र निर्माण तथा सञ्चालनका लागि १० कठ्ठा जमिन दान गरेका हुन् ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार १३:११