सूचनाको शक्ति - The Power Of Information

        

हत्याका योजनाकार पक्रन हवाई फायर

बाँके । कोहलपुरमा गत शनिबार भएको युवक हत्याका मुख्य योजनाकार भनिएका युवराज गिरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको बिशेष प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको हो ।
हत्या आरोपी गिरीलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गोली हानहानसमेत भएको थियो । ‘प्रहरीलाई देखेपछि उ भाग्न खोज्यो’ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहले भने, ‘हाम्रो टोलीले घुँडामुनी फायरिङ्ग गरेर अभियुक्तलाई नियन्त्रणमा लिएका हौं ।’
खुट्टामा गोली लागेका गिरीको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । गत शनिबार कोहलपुर नयाँ बसपार्क नजिकै सुर्खेतका दिपक सिंह ठकुरीको घाँटी रेटेर हत्या गरिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि भरत शाहीलाई पक्राउ गरिसकेको छ ।
प्रहरीका अनुसार शाहीलाई मंगलबार सुर्खेतबाट पक्राउ गरेको र उनैले दिएको सूचनाको आधारमा प्रहरीले हत्याका मुख्य योजनाकार गिरीलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ । गिरीले घाँटी रेटेर हत्या गर्दै गरेको भिडियोसमेत खिचेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गिरी र शाहीले सिंहलाई प्रहरीको असई बनाइदिन्छु भन्दै डेढलाख रकम लिएका थिए । असई बनाउन नसकेपछि रकम फिर्ता माग्ने क्रममा विवाद हुँदा खुकुरी हानी हत्या गरेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार १५:३५