सूचनाको शक्ति - The Power Of Information

        

बेलायती प्रधानमन्त्रीको इयुबाट बाहिरिने योजना संसदबाट खारेज, सरकार धरापमा

बीबीसी । लण्डन । बेलायती संसदले युरोपेली संघ (इयु) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी प्रधानमन्त्री टरेसा मे को योजना अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेको योजनाको विपक्षमा ४३२ मत परेको थियो भने पक्षमा २०२ मत परेको थियो । सो सम्बन्धी मतदान मंगलबार (नेपाली समयअनुसार गएराति) भएको हो । प्रधानमन्त्री मे को कन्जरभेटिव पार्टीका ११८ सांसदले विपक्षीसँग मिलेर विपक्षमा मत हालेका थिए ।
तर, विपक्षका तीन जना सांसदले भने प्रधानमन्त्री मे को पक्षमा मतदान गरेका थिए । प्रधानमन्त्रीको योजना असफल भएपछि विपक्षी लेबर पार्टीले प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव गरेको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्रीको योजना असफल हुनु भनेको उनलाई संसदको विश्वास छैन भन्ने कुरा पुष्टि भएको बताए । उनले प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव राखेकोमा त्यसबारेमा आज बुधबार छलफल हुँदैछ ।
ब्रेक्सिटको बारेमा भएको झड्काले प्रधानमन्त्री मे को राजनीतिक जीवननै दाउमा लाग्ने अवस्था आएको छ । तर, कतिपय सांसदहरुले आफूहरुले यो योजनामा मात्रै विरोध जनाएको प्रधानमन्त्रीको विरोध नगरेको जनाएका छन् । मे ले आफूलाई विश्वासको मत प्राप्त भएमा आगामी सोमबार ब्रेक्जिट सम्बन्धी दोस्रो प्रस्ताव पेश गर्ने बताएकी छन् । यदि बुधबार मे लाई विश्वासको मत प्राप्त भएन भने उनले आगामी १४ दिनभित्र पुनः विश्वासको मत हासिल गर्न पहल गर्नुपर्नेछ । तर, कसैको पनि बहुमत नपुग्ने र सरकार नबन्ने अवस्था आएमा बेलायतमा नयाँ चुनाव समेत हुन सक्नेछ ।
मे ले मंगलबार मतदान अघि आफ्नो योजना पास गराउनका लागि सकेसम्म प्रयास गरेकी थिइन् । उनले त्यसबारेमा भएको मतदान आफ्नो राजनीतिक करियरकै सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताएकी थिइन् । उनको मन्तव्य निकै नै भावुक थियो । उनले यो प्रसंगमा इयुसँग नयाँ संझौता पनि गर्न सक्छिन् । र, फेरि पनि जनमत संग्रह पनि गराउन सक्ने बताइएको छ । यदि यस्तो कुनै काम भएन भने बेलायत सन् २०१९को मार्चमा इयुसँग कुनै संझौताबिना नै इयुबाट बाहिरिने अवस्था आउनेछ ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार ०७:५४