सूचनाको शक्ति - The Power Of Information

        

लक्ष्यमा पुग्न राजश्व असफल

बाँके । आन्तरिक राजश्व कार्यालय नेपालगन्ज लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ । आर्थिक वर्ष २०७५/०७६ को साउनयता कार्यालयले लक्ष्य प्राप्त गर्न नसकेको हो । कार्यालयले साउनयता पुस मसान्तसम्म एक अर्ब ७० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत प्रकाश पौडेलले बताए ।
उनका अनुसार यो समयवधीमा कार्यालयले एक अर्ब ६५ करोड मात्रै राजश्व संकलन गरेको छ । कार्यालयले आफनो लक्ष्यमा पुग्न पाँच करोड थप राजश्व संकलन गर्न नसकेपछि असफलको सूचीमा देखिएको हो । तर, पुस महिनासम्मको राजस्व संकलनको लक्ष्य भने कार्यालयले पुरा गरेको छ ।
पुस महिनामा ३६ करोड सात लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले सोमबारसम्ममा ३७ करोड १० लाख राजश्व संकलन गरेको छ आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत प्रकाश पौडेलले बताए । उनका अनुसार पुस महिनामा भने कार्यालयले लक्ष्य भन्दा बढी अर्थात १०३ तीन प्रतिशत राजश्व संकलन गरेको छ ।
छुट कर बुझाउने अन्तिम समय पुस ३० गते सोमबारका दिनमात्रै ६ करोड राजश्व संकलन भएको उनले बताए । सोमबार संकलित ६ करोडसहित गरी पुस मसान्तसम्म एक अर्ब ६५ करोड राजश्व संकलन भएको हो । उनका अनुसार पुस अन्तिमसम्म राजश्व कार्यालय नेपालगन्ज लक्ष्यमा पुग्न पाँच करोडले असफल देखिएको छ ।
कार्यालयले अब यो लक्ष्य आगामी असार मसान्तसम्म सहजै पुरा गर्ने भएको छ । सरकारले विगतमा करको दायरामा नआएका तर आर्थिक क्रियाकलापमा संलग्न रहेका ब्यक्तिहरुले स्थायी लेखा नम्बर लिइ आर्थिक कारोबार गरिरहेको भएमा कर तिर्ने योजना ल्याएको थियो । आर्थिक बर्ष २०७१/०७२ देखि २०७३/०७४ सम्मको आय विवरण र त्यसमा लाग्ने कर सोमबारसम्म बुझाएमा त्यसबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने आन्तरिक राजश्व विभागले बताएको थियो ।
करको दायरामा आएका तर आर्थिक बर्ष २०७२/०७३ वा त्यसभन्दा अघिसम्मको आय विवरण पेस नगरेका प्राकृतिक ब्यक्तिले २०७१/०७२ र २०७२/०७३ को आय विवरण र त्यसमा लाग्ने सोमबारसम्म बुझाएमा त्यसभन्दा अघिका बर्षहरुको आय विवरण र कर बुझाउनुपर्ने तथा त्यसमा लाग्ने कर शुल्क तथा ब्याजसमेत मिनाहा हुने आन्तरिक राजश्व कार्यालय बताएको थियो ।

प्रकाशित मिति : १ माघ २०७५, मंगलवार १४:१४