सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा ‘नरहरि’ पर्व

बैतडी । सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ । माघेसङ्क्रान्तिलाई यहाँ नरहरि पनि भन्ने गरिन्छ । माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन छ । पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने गरिन्छ ।
उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का, मेरो रोटी खा’ भन्दै कागलाई बोलाई खुवाउने चलन छ । धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित जयानन्द भट्ट बताउँछन् ।
आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख छ । कागलाई यमराजको सन्देश वाहकका रुपमा समेत पूजा गरिन्छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ । कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रुपमा लिइन्छ । कागले पुस १५ गते तीर्थस्थलमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास छ ।
काग अत्यन्तै चलाखसँगै सर्वभक्षी प्राणी हो । कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता छ । यसले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा र सबै प्रकारका फोहर खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा पनि लिइन्छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको पण्डित भट्ट बताउँछन् । कागले लगेर लुकाएको रोटीलाई ब्याउने गाईलाई खुवाए बाच्छाबाच्छी सप्रिने विश्वास रहीआएको छ ।
‘माघेसङ्क्रान्तिमा कागलाई मीठा खानेकुरा खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता छ,’ उनले भने । माघमा माछा मासु खानु हुँदैन भन्ने पुस्तौँदेखिको चलन रहेको पण्डित भट्टको भनाइ छ । पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन अनुसार यसलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ । माघेसङ्क्रान्तिमा कामको सिलसिलामा बाहिर रहेका यहाँका बासिन्दा घर फर्किन्छन् । विवाहित महिला माइतीघर जाने गर्छन् ।

प्रकाशित मिति : १ माघ २०७५, मंगलवार १३:४६