विजय मल्ल । बाँके । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । केही वर्षपहिले माघी आउनुभन्दा एक महिना अघिदेखि नै थारु समुदायमा मादल बज्न सुरु हुन्थ्यो । केटाकेटीदेखि बुढापाकासम्म माघीको उमङ्ग र रौनक छाउथ्यो । तर पिछिल्लो केही समययता माघीको अघिल्लो दिनसम्म पनि गाउँमा कतै मादल बजेको सुनिदैन ।
आधुनिकताको लहडमा मानिसमा आएको विलासीतापनले आजभोली माघीको स्वरुपमा परिर्वतन भएको छ । माघीको अवसर पारेर सहरबजार र गाँउघरमा आयोजना हुने मेला, महोत्सबमै सबैको ध्यान केन्द्रित हुन थाल्यो । जसका कारण थारु समुदायको संस्कृती र परम्परा विस्तारै राउँदै गएको थारु अगुवाहरुको चिन्ता छ ।
यस्तै चिन्तामा छन्, बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरका ६० वर्षीय जीतबहादुर थारु । बैजापुरमा थारुहरुको बाक्लो उपस्थिति छ । थारु समुदायको झण्डै ८० प्रतिशत जनसंख्या रहेको राप्तीसोनारीको बैजापुरका कतिपय थारु बस्तीमा यसवर्ष माघीको अघिल्लो दिनसम्म पनि खासै रौनकता देखिएन् ।
‘युवाहरु जति सबैको ध्यान महोत्सबतिर गयो, हामी पनि उमेरका हिसाबले बुढो भईसकिम, कस्ले गीत गाउने, को नाचिदिने ?’ जीतबहादुर प्रश्न गर्छन् । पछिल्लो बर्ष विस्तारै माघीको रौनकता घट्दै गएको उनी स्वीकार गर्छन् । माघी पर्वलाई हिन्दु धर्ममा आस्था राख्नै सबैले मनाउँछन् । थारु समुदायले नयाँ वर्षका रुपमा माघी पर्व मनाउने गर्छन् ।
विशेषगरी थारु समुदायले महत्वपूर्णताका साथ मनाउने यो पर्व महान पर्व पनि हो । नेपाली समुदायले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाएझै थारुसमुदायको यो दिनबाट नयाँ वर्षको सुरुवात हुन्छ । उनीहरुले बर्षभरीका नयाँ योजना माघी पर्वमै बनाउने गर्छन् । बढ्दो आधुनिकताले गर्दा सास्कृतिक, परम्परागत मूल्यमान्यता बोकेको ऐतिहासिक पर्व माघीको महत्व र रौनकता घट्दै जानुले पनि अबको भविष्य कस्तो होला भन्नेमा जानकार चिन्तित छन् ।
माघी आउनु एक महिनाअघि गाँउघरमा पहिले–पहिले नाँचगान र रमाईलो हुने गर्दथ्यो तर पछिल्ला समयमा यस्तो नहुँदा कतै माघी पर्वको महत्व घट्दै जाने त होइन, भन्ने चिन्ता हामीलाई छ, यसतर्फ बेलैमा सचेत हुन आवश्यक भएको पत्रकार विश्वराज पछ्लडङ्ग्या बताउछन् । उनका अनुसार माघीका दिनदेखि थारु सम्वत् २६४२ को सुरुवात भएको छ । वेरोजगारी, आर्थिक अभाव तथा शिक्षाको पहुँच कम रहेको थारु समुदायका प्राय पुरुषहरु रोजगारीका देश तथा विदेशमा छन् ।
पुरुषको उपस्थिती नहुँदा थारु महिलाहरु जम्मा भएर सामान्यरुपमा मनोरञ्जन गर्ने गरेको पत्रकार थारुको बुझाई छ । माघीको अवसरमा नाचगान गर्ने र माघी पर्वका दिन नजिकैको खोला र तालमा गएर नुहाउने चलनलाई अहिलेको पुस्ताले बिर्सदै गएको छ । नेपालमै बाँके, बर्दिया, दाङ्ग, कैलाली, कञ्चनपुर, कपिलबस्तु र चितवन लगायतका क्षेत्रमा थारु समुदायको बाक्लो उपस्थिति छ तर माघीको रौनकता पहिलेको भन्दा अहिले हराउँदै गएको पत्रकार थारु सहमत छन् ।
यता राप्ती सोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुले पहिले गाउँमा थारु नाँचगानमा आफू स्वयं सहभागी हुन्थ्ये । तर, पछिल्लो केही वर्षयता गाँउघरमा हुने नाँचगानको चलन हराउदै गएकोले त्यसतर्फ कसैको ध्यायन नपुगेको उनको भनाई छ । थारु समुदायको परम्परागत पहिचानको रुपमा समेत हेरिने यो माघी पर्वमा संस्कृति हराउँदै गएकोमा गाउँपालिका अध्यक्ष थारुले चिन्ता व्यक्त गरे । पछिल्लो समयमा विकसित प्रविधी (मोबाईल, ईन्टरनेट) लगायतले गर्दा पनि थारु समुदायका नयाँ पुस्ताहरु नाँचगानमा त्यति रुची राख्दैनन् ।
नयाँ पुस्ताले स्थानीय नृत्यलाई चासो दिन छाडिसकेको राप्तीसोनारी गाँउपालिकाकी स्थानीय युवा बिमला चौधरी बताउँछिन् । ‘माघीको रौनकता हराउनुमा नयाँ प्रविधीको विकाससँगै थारु कला, सँस्कृती संरक्षणमा नयाँ पुस्ताको चासो नहुनु पनि प्रमुख कारण हो,’ युवा चौधरीले बताइन् । माघी पर्वमा थारु समुदायले सुँगुरको मासु, मुसा, सिद्रा माछा, ढिक्री, लगायत परिकार बनाएर खान्छन् ।
यसका साथसाथै थारु समुदायमा जाँडको झोल, मौहाबाट बनाइएका घरेलु मदिरा समेत खाने चलन छ । यस्तै माघेसंक्रान्तिका अवसरमा जातजातीअनुसार परिकार खाने चलनछ । पहाडी, हिमाली तथा तराई भेगमा बस्ने अन्य जातीहरु सख्खरखण्ड, गन्जी, तरुल, चाकु, तीलको लयु, खीर, खीचडी पकाएर खाने चलन छ । समयमा आएको परिर्वतनसगैं माघी हिन्दू समुदायमा मात्र सिमित भएको पाइदैन । यसले विस्तारै अन्य मुस्लिम धर्मावलम्बीहरुलाई पनि छोएको छ ।
यसदिन मुस्लिम समुदायले खीचडी समेत बनाएर खाने गर्दछन् । यसका साथै मघौटा र छोक्रा नाँच पनि नाच्ने चलन छ । भू–भागअनुसार माघे संक्रान्तिका अवसरमा देउसी भैलो खेलेझै पाइयो–पाइयो खेल्ने गरिन्छ । माघीका दिन साना केटाकेटीहरु समुह बनाएर टोलछिमेकमा गई पाइयो पाइयो भन्दै खेल्ने गर्दछन् । यसरी आफ्नो घरआँगनमा अएका केटाकेटीलाई घरमुलीले गन्जी, तरुल, चाकु लगायतका खानेकुरा दिने गर्छन् ।
हरेक वर्षको माघ १ गतेको दिनलाई माघी पर्व अर्थात् मकर संक्रान्ति पर्वका रुपमा मनाइन्छ । मङ्गलबार (आज) माघी पर्व धुमधामका साथ मनाइँदैछ । माघी पर्वका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ स्थित भुवरभवानी मन्दिर, दाङको रिहार, बाह्रकुने दह, प्युठानको स्वर्गद्वारी, बर्दियाको ठाकुरबाबा मन्दिर लगायत धार्मिक स्थलमा ठुलो मेला लाग्ने गर्दछ ।
खिचडी खानुका फाइदा
माघे संक्रान्तिको अवसर पारेर घरघरमा खिचडी खाने प्रचलन अहिले पनि विद्यमान छ । यसको वैज्ञानिक कारण के हो भने यस समयमा शीतलहर चल्ने गर्छ । शीतलहरमा चिसोबाट बच्न तथा शरीरलाई तुरुन्तै उर्जा प्रदान गर्न खिचडीको सेवन निकै लाभदायक मानिन्छ । किनकी यसमा नयाँ चामलको साथमा मुंगको दाल, अदुवा लगायत कयौ प्रकारका सागसब्जीको प्रयोग हुने गर्छ । जसले गर्दा यसले शरीरमा गर्मी पैदा हुन्छ ।
तिल र गुडसित जोडिएको वैज्ञानिक आधार
माघे संक्रान्तिको अवसरमा तिल र गुड खानुको वैज्ञानिक आधार छ । विशेषगरी, चिसो मौसममा जब शरीरलाई गर्मीको आवश्यकता पर्छ, तब तिल वा गुडले शरीरलाई गर्मी प्रदान गर्न मद्दत गर्छ । विशेषगरी तिलमा तेल हुने भएकोले तेलको कमी हुन दिदैन, र शरीर तातो हुने गर्छ । यस्तैगरी, गुडले पनि शरीरलाई गर्माहट दिन्छ । यही विशेषताका कारण पनि माघ महिनाको सुरुवातमा तिल तथा गुडबाट बनेको परिकारको अत्याधिक सेवन हुने गर्छ ।
विजय मल्ल - ।