सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीसँगको मुठभेडमा मारिए ‘मोस्ट वान्टेड’ साहनी

केदार साहनी

केदार साहनी


रुपन्देही । प्रहरीको खोजीको सूचीमा सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीका केदार साहनीको प्रहरी मुठभेडमा मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१० देशार पोल्ट्री फार्म अगाडिको चोकमा गएराति प्रहरीसितको मुठभेडमा साहनी मारिएका हुन् ।
दश वर्षदेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजना तथा कर्तव्य ज्यान, शरिर अपहरण बन्धकलगायत मुद्दामा फरार रहेका अभियुक्त साहनी मारिएको रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।
पछिल्लो पटक साहनी सिद्धार्थनगर नगरपालिका–८ कैलाश पथका ३८ वर्षीय आकाश गुरुङको अपहरणपछि हत्या गरी फरार थिए । उनले गुरुङको गत असोज १२ गते हत्या गरेका थिए । साहनीले गुरुङलाई २०७१ भदौ २७ गते अपरण गरेका थिए ।
उनले गुरुङलाई अपहरण गरी नवलपरासीको बर्दघाट नगरपालिका– १० स्थित सामुदायिक वनमा लगेर रु एक करोड फिरौती मागेका थिए । ‘रकम नपाएपछि साहनीले गुरुङको हत्या गरेका थिए,’ प्रहरी नायब उपरीक्षक कुमोद ढुङ्गेलले भने ।
उनी हतियार देखाइ सर्वसाधारणलाई त्रसित पार्दै रकम असुली गर्ने कार्यमा संलग्न थिए । साहनी तराईका भूमिगत समूहसँग आबद्ध रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

को हुन् साहनी ?
काठमाडौं । २०६६ साल माघ १० गते कपिलवस्तु जेलब्रेक गरी केही कैदीरबन्दी भागे । जेलभित्रबाट सुरुङ खनी उनीहरु भागेका थिए । तीमध्ये एक थिए रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का केदार साहनी ।
तत्कालीन तराई जनतान्त्रिक मुक्ति मोर्चा आजाद समूहका केन्द्रीय सदस्य रहेका साहनीलाई कपिलबस्तु जिल्ला प्रहरीले हात हतियार तथा खरखजनामा मुद्धा चलाएको थियो । त्यसपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए ।
जेल तोडेर भागेपछि हतियारको आडमा साहनीको चन्दा आतङ्क बढ्यो । उनले २०७२ भदौ २८ गते स्थानीय आकाश गुरुङको अपहरण गरे । एक करोड रुपैयाँ फिरौती मागे पनि नपाएपछि ६ दिनपछि आकाशको गोली हानी हत्या भयो र जंगलमा शव फालियो ।
आकाश अपहरणमा परेको दुई सातापछि उनको शव जंगलमा भेटिएको थियो । त्यसयता साहनी नेपाल–भारत गरिरहन्थे । तर प्रहरीले उनलाई भेट्न सकेको थिएन । उनै साहनी शनिबार राती रुपन्देही प्रहरीको इनकाउन्टरमा मारिए ।
स्थानीय प्रहरीको दावी छ, ‘तस्करी नियन्त्रणमा निस्किएको रात्रिकालिन गस्ती टोलीले अगाडिबाट आइरहेको मोटरसाइकललाई रोकेर सोधपुछ गर्न खोज्दा दोहोरो भिडन्त भयो ।’ साहनी अविवाहित रहेको प्रहरीले जनाएको छ ।
रुपन्देही, कपिलबस्तु र नवलपरासीका क्षेत्रमा साहनीको आतंङ्क रहेको प्रहरीको दावी छ । रुपन्देहीकै बहुचर्चित डन मनोज पुन गतवर्ष चितवनमा प्रहरी इनकाउन्टरमा मारिएका थिए । मारिनेमा उनका सहयोगी पनि थिए ।

प्रकाशित मिति : २९ पुष २०७५, आइतवार १९:१०