सूचनाको शक्ति - The Power Of Information

        

कमलादेवी र पजुमाले दिए सुत्केरीलाई मनिकापुर स्वास्थ्य चौकीलाई बेड

बाँके । सधैं झैं सुत्केरीको चाप रहने नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरमा रहेको स्वास्थ्य चौकी, जहाँ एकैदिन तीन जनासम्म सुत्केरी हुन्छन् । काठमाडौं कुलेश्वरका कमलादेवी सिंह र पजुमा सिंहले सोही स्वास्थ्य चौकीमा बेड अभाव भएको थाहा पाए ।
सुत्केरीलाई बेड अभाव भएको थाहा पाएपछि उनीहरुलाई निकै पीडा भयो र स्वास्थ्य चौकीलाई बेड सहयोग गर्ने बनाए । सिंहद्वयको उक्त योजनाले साकार रुप लियो, स्वास्थ्य चौकीलाई दुई वटा बेड हस्तान्तरण गरे । बेड प्राप्त भएपछि स्वास्थ्य चौकीले एउटा कोठा बनाएर नयाँ बेड राखेको छ ।
ठूला अस्पताल छाडेर मनिकापुर स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमै सुत्केरी हुन आउने गर्भवती महिलाहरुको अहिले पनि कमी छैन । काठमाडौंमैै बसेर स्वास्थ्य चौकीलाई बेड सहयोग गर्न पाउँदा गर्व महसुस भएको सिंहद्वयको भनाई छ । एउटा मात्रै बेड रहेको स्वाथ्य चौकीमा दुई वटा बेड सहयोगस्वरुप प्राप्त भएपछि तीन वटा भएका छन् ।‘सुत्केरी हुन आउनेको चाप र एउटा मात्रै बेड हुँदा निकै समस्या थियो,’ स्वास्थ्य चौकीका इन्चार्ज सरोजकुमार मिश्रले भने, ‘सिंहद्वयले बेड सहयोग गरेर भुल्नै नसक्ने गुन लगाउनुभएको छ । उहाँहरुको सहयोगले हामीलाई ठूलो राहत भएको छ ।’
अनमी आशा सार्कीका अनुसार मनिकापुर आसपासमा रहेका गाउँका गर्भवती महिलाहरु पहिले त यही स्वास्थ्य चौकीमा आउँछन् । उनले भनिन्, ‘यहाँ आउने गर्भवतीको अवस्था जटिल भएमात्रै हामीले नै रिफर गरेपछि मात्रै अन्यत्र अस्पताल जान्नुहुन्छ ।’ स्वास्थ्य चौकीमा साउनयता १०७ जना सुत्केरी भएको अनमी सार्कीले बताइन् ।
उनकाअनुसार साउनमा २० जना, भदौमा १६, असोजमा २१, कातिकमा २०, मंसीरमा १५ र पुस २९ गतेसम्ममा १५ जना सुत्केरी भइसकेका छन् । नेपालगन्जका ठुला अस्पतालदेखि झण्डै ८ किलोमिटरको दुरीमा मनिकापुर स्वास्थ्य चौकी पर्छ । तर आसपासका महिलाहरु सुत्केरी हुन सोही स्वास्थ्य चौकीमै पुग्ने गरेका छन् ।
नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले सहयोग गर्ने सिंहद्वयलाई धन्यवाद दिँदै भने, ‘उहाँहरुले बेड सहयोग गरिदिनुभयो, त्यसका लागि धन्यवाद ।’ उनले तीन वटा बेडले मात्रै नपुग्ने भएकाले आवश्यकता अनुसार अरु बेड थप गरिने बताए ।

प्रकाशित मिति : २९ पुष २०७५, आइतवार १७:५८