बाँके । थारुहरुको सबैभन्दा ठुलो पर्व नजिकिएको छ । बाँके र बर्दियाका थारु बस्तीमा माघी पर्वको तयारीले छप्क्कै छोपेको छ । थारु समुदायका युवतीहरु अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार गर्नमा व्यस्त छन् । नयाँवर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारु बस्तीमा सुरु भइसकेको छ ।
थारु समुदायका महिला पुरुषहरु अहिले आ–आफ्नो तयारीमा जुटेका छन् । पुरुषहरु माघीका लागि मासुको जोहो गर्न जुटिरहेका छन् । अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारु युवतीलाई भ्याइनभ्याई भएको छ ।
‘माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दैछौं,’ बैजनाथ गाउँपालिका–१, चिसापानीकी फुलमती चौधरीले भनिन् । एक महिना अघिदेखि नै माघीको तयारी सुरु हुने थारु समुदायमा जसमा खानाका परिकारहरू पकाउन काठ, दाउरा अनादीको चामलको गुलियो जाँड, रक्सी बनाउनुका साथै दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने लगायतका काम गरिन्छ ।
तराईका थारु गाउँहरु अहिले माघीमय भएका छन् । पुस अन्तिम दिनबाट सुरु भई माघ दुई गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारु अगुवाहरु बताउँछन् । यो पर्वमा थारु समुदायले विगतको गतिविधिको समीक्षा समेत गर्ने गर्छन् ।
माघीमा मिठोमिष्ठान खाने, नाचगान गरी रमाउने चलन छ । ‘माघी पर्वसँगै थारु समुदायमा विधिवतरूपमा विवाह, अंशवण्डा लगायतका कार्यको थालनी हुन्छ,’ चिसापानीका राजकुमार चौधरीले भने, ‘यसदिन आपसी वैमनस्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी ढिक्री, मासु, तरुललगायतका परिकार खाने र खुवाउने चलन रहेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउँछन् ।’
माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले यसलाई तामझामका साथ मनाउने गरेको बाँके टिटिहिरियाका थारु अगुवा चन्द्रबहादुर चौधरीले बताए । माघीमा आफन्तहरु आउने भएकाले उनीहरुको सेवा सत्कारका लागि सम्पूर्ण तयारी पुरा भएको उनले बताए । ‘तयारी लगभग पुरा भएको छ । सबै किनमेल सकियो, मासु र रोटीहरु पनि तयार भइसक्यो,’ उनले भने ।
माघ महिनामा थारु समुदायमा घर फुट्ने, जग्गा अधिया लगाउने नलगाउने, बडघर बस्ने नबस्ने, चौकीदार हेरफेर जस्ता महत्वपूर्ण योजना बनाउने गर्दछन् । माघ १ गतेको विहान २ बजेदेखि नजिकै रहेको खोला, नदिमा नुहाएर आफूभन्दा ठुलासँग आर्शिवाद लिने चलन थारु समुदायमा रहेको छ । पछिल्लो समय माघी पर्वलाई भव्य बनाउन थारु महोत्सव समेत आयोजना गर्न समेत थालिएको छ ।
‘माघीमा आफन्तहरु आउने भएको हुनाले उनीहरुको सेवा सत्कारका लागि सम्पुर्ण तयारी पुरा गर्नुपर्ने परम्परा रहेकाले त्यसको तयारीसमेत गरिरहेका छौं । जाँड, रक्सी र घर लिप्नेजस्ता सबै तयारी सकिएकोे छ,’ बाँके फत्तेपुरकी फुलमति थारुले भनिन्, ‘घरमा धेरै आफन्तहरु एकैठाउँमा जम्मा भएर मनाउने योजना छ ।’
माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले यसलाई तामझामका साथ मनाउने तयारी गरेको बर्दिया ठाकुरबाबा नगरपालिका–३ मिर्चैयाका हरिप्रसाद थारुले बताए । ‘माघीमा आफन्तहरु आउने भएकाले उहाँहरुको सेवा सत्कारका लागि सबै तयारी गरेका छौं,’ उनले भने, ‘थारु पर्व उल्लासमय बनाउन लागिपरेका छौं ।’
विदेश कमाउन गएका थारु युवाहरु पनि माघी मनाउन घर फर्किएका छन् । सबैतिर माघीको तयारी चलिरहेको हरीप्रसादले बताए । ‘गाउँमा साथीहरु मिलेर रमाइलो गर्छौ,’ चौधरी भने, ‘गाउँमा माघीको रौनकले विगतका पीडाहरु भुलाइदिएको छ । टाढाटाढा भएका साथीभाईको जमघटले निकै रमाइलो भएको छ ।’
घोँगी बेच्न भ्याइनभ्याई
माघी पर्व सुरु भएसँगै राजापुर नगरपालिका–८ बर्दियाका प्रकाश थारुलाई बिभिन्न ठाउँबाट घोँगी किन्ने ग्राहकको दैनिक फोन आइरहन्छ । पर्व माघी आउन केही दिनमात्र बाँकी हुँदा घरायसी तथा मेला, महोत्सवमा बिक्री गर्नका लागि घोँगीको माग अत्याधिक हुने गरेको छ । माघ अधिक भए पनि अत्याधिक चिसोका कारण भनेजस्तो घोँगी भेटाउन नसकिएको थारुले बताए ।
‘घोँगी पठाइदिनुपर्यो भन्दै दिनदिनै फोन आइरहन्छ । तर पु¥याउनै सकेको छैन,’ थारुले भने, ‘यसपाली भनेजस्तो भेटाउन सकिएको छैन ।’ तीन वर्षदेखि घोँगीको कारोवार गर्दै आएका प्रकाशले आफ्नै तलाउबाट घोँगीको जोहो गर्छन् । थारु समुदायमा घोँगीको परिकारलाई बिशेष मानिन्छ । स्वास्थ्यका लागि उपयोगी मानिने घोँगी पछिल्लो समय हरेक समुदायले रुचाउने गरेका छन् ।
होमस्टे, रेष्टुरेण्टहरुमा समेत बिक्री हुन थालेपछि घोँगीबाट राम्रै आम्दानी हुन थालेको प्रकाशले बताए । उनले भने, ‘तीन वर्षअघि प्रतिकेजी रु ३० मुल्य थियो तर अहिले रु.१५० सम्म पुगेको छ ।’ गाभर होमस्टेका सञ्चालक एवं होमस्टे एशोसियन प्रदेश नम्बर ५ का सचिव कृष्ण चौधरीले घोँगीको बिक्रीबाट स्थानीयले आम्दानी गर्ने अवसर पाएको बताए ।
उनले भने, ‘घोँगी मौलिक परिकार बनेको छ । सबैले रुचाएपछि माग पनि बढेको हो ।’ थारु समुदायको मौलिक परिकारहरु बिक्री हुने नेपालगन्जमा रहेको गोचाली रेष्टुरेन्टमा घोँगीको परिकार खान आउनेहरुको भीड लाग्छ । सामान्य अवस्थामा पनि दैनिक दुई केजीसम्म घोँगीको परिकार बिक्री हुने गरेको गोचाली रेष्टुरेन्टका सञ्चालक सोम डेमनडेउराले बताए ।
सामाजिक सञ्जालमा उस्तै चर्चा
थारु बस्तीमा माघीको चहलपहल सुरु भएसँगै सामाजिक सञ्जालको फेसबुक, ट्वीटरका वालहरुमा माघीकै चर्चा छ । कसैले माघी महोत्सवको भनेर प्रचार गरिरहेका छन् भने कसैले माघी मिलन कार्यक्रममा उपस्थितिका लागि आमन्त्रण गरिरहेका छन् । सामाजिक सञ्जालहरु थारु समुदायको महान पर्व माघीको अवसरमा दिइएका शुभकामना सन्देशहरुले रंगिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो फेसबुक, ट्वीटर वालमा माघीको बारेमा लेखिरहेका छन्, शुभकामना बाँडिरहेका छन् । थारु समुदायहरुको आफ्नै मौलिक लोक संस्कृति रहेको छ । समय, चाडपर्व र मौसम अनुसार गीत, संगीत र सांस्कृतिक चालचलनहरु छन् । यसको जगेर्ना गर्नका लागि सबैलाई एकजुट हुन आग्रह गर्दै फेसबुक वालमा शुभकामना सन्देशहरु आइरहेका छन् ।
थारु अधिकारकर्मी सुशील चौधरीले फेसबुकमा लेखेका छन्, ‘२०६२/०६३ को परिवर्तन पश्चात माघी महोत्सव मनाउने लहर नै चलेको छ । खासगरी थारु सघन जिल्ला र बस्तीहरुमा यसलाई साँस्कृतिक उभार मान्नुपर्ला । यस्ता साँस्कृतिक पहलले आर्थिक तथा सामाजिक विकास र सद्भाव वृद्धि एवं पहिचानको सार्थक प्रवद्र्धनका लागि सघाउनुपर्छ ।’
होमस्टे एशोसियन नेपाल (होसान) प्रदेश नं. ५ का सचिव तथा गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालन कृष्णलाल चौधरीले दुई दिनअघि नै फेसबुक वालमा लेखेका छन्, ‘माघी एक अनौठो पर्व, सबै नेपालीहरुको महान पर्व, हरेक गाउँशहरमा माघी मेला र महोत्सव, अब थारु समुदायको मात्र रहेन माघी पर्व । त्यसैले यो महान पर्व माघीको शुभकामना !’
सत्यपाटी - ।