सूचनाको शक्ति - The Power Of Information

        

आगामी बजेट समृद्धिमा केन्द्रीत : मन्त्री बस्नेत

जडिबुटी व्यवसायी संघको २० औं साधारणसभा

बाँके । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आगामी जेठ १५ गते आउने बजेटपछि आमनागरिकले दुई तिहाईको सरकारको अनुभूति गर्ने बताएका छन् । मन्त्री बस्नेतले अबको बजेट समृद्धिमा केन्द्रीत भएर आउने दावी गरे ।
उनले भने, ‘सरकारको प्राथमिकता विकास र समृद्धि हो । यसैमा आधारित भएर अबको बजेट आउँछ ।’ नेपाल जडिबुटी व्यवसायी संघ (जवान)को २० औं साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै मन्त्री बस्नेतले जडिबुटीको व्यावसायिक खेतीलाई प्राथमिकतामा राखेको बताए ।
‘संरक्षणको लागि सरकारले सबै स्थानीय तहमा हरित उद्यमको विकास गर्नुपर्छ,’ मन्त्री बस्नेतले भने, ‘सरकारले यसका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।’ उनले कुन स्थानीय तहमा कुन खेती सम्भव हुन्छ त्यसै अनुरुप हरित उद्यमको विकास गर्ने तथा नीजि जमीनमा पनि बनजन्य उत्पादन गरी व्यवसाय गर्न पाउने नीति बनाउने तयारी गरेको बताए ।
उनले जडिबुटी तथा बनजन्य उत्पादनको व्यवसायमा राज्यले केही कडा नीति तय गरेकाले व्यवसायीको लगानी तथा व्यवसाय नै जोखिममा रहेको जनगुनासो आएपछि नीतिमा केही संशोधन गरी खुकुलो बनाउन पहल भइरहेको जानकारी दिए ।
साइटिस महासन्धीका कारण नेपाली जडिबुटीको संकलन तथा निकासीमाथि विभिन्न खाले झण्झट भएको गुनासो आएपछि त्यसमा सुधार गर्न पहल भएको बताउँदै भने, ‘जटामसी, झ्याउ लगायतका जडिबुटीको सहज निकासीका विषयमा पनि मन्त्रालय लचिलो हुन्छ ।’
मन्त्री बस्नेतले बनक्षेत्रलाई संरक्षण गरेर उपयोग गर्न नपाउने हो भने विकास र समृद्धि हुन नसक्ने दावी गर्दै बन क्षेत्रको उपयोगसँगै संरक्षण गरी भोलीको पुस्ताले पनि लाभ लिन पाउने अवस्था सिर्जना गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणाले नेपाली जडिबुटीको महत्व विश्व बजारमा अधिक रहेको र बजार पनि रहेको अवस्थामा नेपालगन्ज उपमहानगरले जडिबुटीको विकासको लागि औद्योगिकी करणको सहजीकरण गर्न तयार रहेको बताए ।
उनले जडिबुटी त्यत्तिकै पठाउनुभन्दा स्वदेशमै विदेशी कम्पनीसंग सहकार्य गरेर आंशिक तथा पूर्ण प्रोसेसिङ्ग गरेर पठाउन सुझाव दिँदै प्रस्ताव आएमा आफु सहयोग गर्न तयार रहेको बताएका थिए । साधारणसभामा जडिबुटी व्यवसायमा देखिएका चुनौती र भारतीय प्लान्ट क्यारेन्टाइनको समस्याका बारेमा छलफल हुने बताइएको छ ।
जवानका अध्यक्ष तथा प्रदेश ५ का प्रदेशसभा सदस्य मो.याकुव अन्सारीको अध्यक्षतामा सम्पन्न उद्दघाटन सत्रमा पूर्वसांसद मैकुलाल बाल्मिकी, नेकपाका नेता अशोक कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पूर्वअध्यक्ष दामोदर आचार्य, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलगायतले शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच, भोलीसम्म चल्ने सञ्चालन हुने जवानको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष मो.याकुब अन्सारी, उपाध्यक्ष शकील अहमद जसगढ, महासचिव टंकप्रसाद शर्मा लगायतले अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २८ पुष २०७५, शनिबार १९:४६