सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीले राखेको निर्मलाको डिएनएमा शंका, दुर्गादेवी भन्छिन्– ‘अनुसन्धानमा कमजोरी’

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तकी आमाले प्रहरीले लिएको डिएनए निर्मलाकै भएकोमा शंका व्यक्त गरेकी छन् । पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा प्रहरीका अनेक कमजोरी खुल्दै गइरहेका बेला आमा दुर्गादेवीले निर्मलाको भनेर प्रहरीले राखेको डिएनएमा पनि प्रश्न उठाएकी हुन् ।
‘प्रहरीले नै निर्मलाको कपडा धुने, प्रमाण मेटाउने काम गरे,’ उनले भनिन्, ‘उनीहरुले निर्मलाको डिएनए राखेको भन्छन् । तर, हामीलाई निर्मलाको साँचो डिएनए राखेको भन्ने प्रहरीको भनाइमा शंका छ ।’ निर्मलाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले धेरैलाई पक्राउ गरेको थियो र उनीहरुको डिएन नमिलेको भन्दै छाडेको थियो । निर्मलाकै डिएनए हो–होइन भनेर विश्ववस्त हुन दुर्गादेवीले रगत दिएकी छन् ।
तर, उनका श्रीमान् यज्ञराजको त्यसमा असहमति छ । ‘निर्मलाका आमाबुवाको रगत लिएर डिएन म्याच गराउन चाहन्छौं भन्ने सबै अधिकारकर्मी र नागरिक समाजको पहिलेदेखिकै माग थियो,’ दुर्गादेवीले भनिन्, ‘हाम्रो पनि त्यही माग हो । निर्मलाको डिएनए म्याच गराउन मैले रगत दिएकी हुँ । त्यसै अनुसार मैले श्रीमानलाई पनि रगत दिऊँ भनेकी थिएँ, उनले मानेनन् ।’ निर्मलाका बुवा यज्ञराज भने रगत दिएको र निर्मलका नाममा राहत बुझ्न लागेको भन्दै असन्तुष्ट छन् ।
यता, सरकारले दिने भनेको राहत आफूले बुझ्ने बताएपछि निर्मलाको परिवारमै कलह सुरु भएको छ । संघीय सरकार, सुदूरपश्चिम सरकार र स्थानीय तहले छुट्टाछुट्टै राहत घोषणा गरेका थिए । तीनवटै सरकारले जम्मा १८ लाख राहत दिने निर्णय गरेका हुन् । सुरुमा पन्त परिवारले त्यसलाई अस्विकार गरे पनि दुर्गादेवी सहमत भएपछि यज्ञराज असन्तुष्ट भएका हुन् ।
छोरीको हत्यापछि मानसकि सन्तुलन समेत गुमाएका भनिएका उनले न्याय नपाई राहत बुझ्न खोजेको भन्दै दुर्गादेवीमाथि हातपात गरेको घटनासमेत सार्वजनिक भएको छ । ‘तैंले अहिले किन राहत बुझ्नुपर्यो ? तँलाई के पुगेन ? भन्दै मलाई हातपात गर्न आए,’ उनले भनिन्, ‘कि तलाईं मार्छु कि म मर्छु भने । त्यसमपछि म भित्र जान नै डराएँ ।’ दुर्गादेवी भने निर्मलाको मुद्दा कमजोर पार्न नभई आफूले अरु छोरीको पनि भविष्य हेरेर राहत लिन तयार भएको बताउँछिन् ।
उनका निर्मलासहित तीन छोरी छन् । ‘अपराधी छिटो पत्ता लगोस् भनेर मैले अहिलेसम्म राहत नबुझ्ने भनेकी थिएँ,’ उनको भनाइ छ, ‘तर धर्ना बसेको पनि दुई महिना भइसक्यो । अपराधी पत्ता लगाएको छैन । कत्तिन्जेल भौंतारिएर बसिरहने ? मैले अरु छोरीको भविष्य हेर्नुपरेन ?’ निर्मलाको मुद्दाको अन्तर्राष्ट्रियकरण भइसकेको भन्दै उनले राहत लिँदैमा सरकारले मुद्दा थाती राखेर बस्न नसक्ने दाबी गर्छिन् । ‘राज्यलाई दाग लागेको छ । न्याय दिएर दाग मेटाउनुपर्छ,’ उनले भनिन् ।
गत साउन १० गते कञ्चनपुर उल्टाखामस्थित घरबाट साथीको घरमा हिँडेकी निर्मला बेपत्ता भएकी थिएन् । भोलिपल्ट उनको शव बलात्कार गरेर हत्या गरिएको अवस्थामा नजिकै उखुबारीमा फेला पारेको प्रहरीको भनाइ छ । स्थानीय बासिन्दाका साथै देशभरबाट अपराधी पत्ता लगाउन आन्दोलन भएका थिए । प्रहरीविरूद्ध कञ्चनपुरमा भएको प्रदर्शनमा गोली लागी एक युवकको मृत्युसमेत भएको थियो ।

प्रकाशित मिति : २८ पुष २०७५, शनिबार १७:५९