सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उपमहानगरमा सहायता कक्ष सञ्चालनमा, सेवाग्राहीलाई सहज

बाँके । नेपालगन्ज उपमहानगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालन भएसँगै सेवाग्राहीलाई सहज भएको छ । नागरिक सहायता कक्ष सञ्चालन भएपछि उपमहानगरपालिकाले प्रदान गर्ने सेवाहरू लिन सेवाग्राहीलाई सजिलो भएको हो ।
पहिलो पटक उपमहानगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुका लागि नागरिक सहायता कक्ष थप प्रभावकारी देखिएको छ । सेवाग्राहीले विशेषगरी शिक्षा शाखा, राजश्व शाखा, व्यवसायी दर्ता, फारम भर्ने बुझाउने ठाउँको बारेमा जानकारी लिइरहेको उपमहानगरपालिकाकी सहजकर्ता सिन्धु चौधरीले बताइन् ।
यसले उपमहानगरपालिकालाई छिटोछरितो र सहजरुपमा सेवा प्रदान गर्न सहज भएको सहजकर्ता चौधरीले बताइन् । ‘सहायता कक्ष नहुँदा अन्यौलमा पर्ने, यताउती डुल्ने हुन्थ्यो भने अहिले त्यो अन्यौलता हटेको छ,’ सेवाग्राही सीता चौधरीले भनिन् । सहायता कक्ष सञ्चालन भएदेखि आफुले खोजेको ठाउँ र व्यक्ति सजिलै भेट्न सकिएको र धेरै सजिलो भएको उनले बताइन् ।
यसका साथै उपमहानगरपालिकामा टोल फ्रि नम्बरबाट फोन गरेर पनि गुनासाहरु टिपाउने काम पनि हुँदै आइरहेको छ । टोल फ्रि नम्बरबाट जनताका समस्या साथै नगरपालिकामा जाँदा कर्मचारी नभेटिनेजस्ता गुनासाहरु आउने गरेका छन् । आएको गुनासो टिपोट गरी गुनासो शाखासम्म पु¥याउने काम सहायता कक्षका सहजकर्ताहरुले गर्दै आएका छन् ।
सहजकर्ताहरुले सिफारिस, चिठीसमेत लेखेर सेवाग्राहीलाई सहयोग गर्ने गरेको सहजकर्ता चौधरीको भनाई छ । उपमहानगरपालिकामा २०७५ पुस ३ गतेदेखि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको हो । त्यसयता दैनिक ४० देखि ६० जनाले सहायता कक्षबाट सेवा लिने गरेको पनि सहजकर्ता चौधरीले जानकारी दिइन् ।

प्रकाशित मिति : २८ पुष २०७५, शनिबार १६:१७