सूचनाको शक्ति - The Power Of Information

        

लागुपदार्थ न्यूनीकरण गर्न ‘र्‍यापिट टेष्ट’

पोखरा । युवा पुस्तामा लागुपदार्थ दुर्व्यसनी बढ्दै गएको वर्तमान अवस्थामा कास्कीको रुपा गाउँपालिकाले यसको न्यूनीकरणका लागि प्रयास थालेको छ । विशेषगरी किशोरावस्थाका युवामा लागुपदार्थको प्रयोग बढ्दै गएको वास्तविकतालाई दृष्टिगत गरी गाउँपालिकाभित्र कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो ।
दुर्व्यसनीले समाजलाई प्रभावित नगरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाका कूल १० वटा सामुदायिक विद्यालयका ३५२ जना विद्यार्थीमा दुर्व्यसनी परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । ‘प्रारम्भिक रुपमा गरिएको पिसाब परीक्षणमा २४ जना विद्यार्थी दुर्व्यसनीमा लागेको पाइयो,’ उनले भने ।
गाउँपालिकाले पाँच दिनको समायावधिमा १० जना प्राविधिक टोली खटाएर गरेको परीक्षणको प्रतिवेदन देउरालीस्थित विश्व शान्ति माविमा आयोजित एक समारोहका बीच सार्वजनिक गरिएको हो । दुर्व्यसनीसँगै त्यसले व्यक्तिगतका साथै सामाजिकरुपमा नकारात्मक प्रभाव पार्ने भएकाले स्कुले अवस्थादेखि नै न्यूनीकरणको प्रयास थालिएको अध्यक्ष ओझाले बताए ।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख आनन्दलाल जोशीका अनुसार परीक्षणबाट दुर्व्यसनी देखिनेमा सबै छात्र भएको पाइएको छ । उनीहरुमध्ये अधिकांशले गाँजाका साथै नशालु चक्की (ट्याप्लेट) प्रयोग गरेको पाइएको जोशीले जानकारी दिए ।
दुर्व्यसनीको सामान्य प्रविधिबाट परीक्षण गर्न सकिने बताउँदै जोशीले ‘र्‍यापिट टेष्ट’ नामक उपकरणमार्फत पिसाबबाट दुर्व्यसनीमा लागे नलागेको पत्ता लगाउन सकिने बताए । गाउँपालिकाले उक्त उपकरण बेलायतबाट मगाएको हो । यो प्रविधि प्रत्येक घरघरमा समेत प्रयोग गर्न सकिने देखिएको छ ।
पछिल्ला वर्षमा विद्यालय अवस्थामै दुर्व्यसनीमा युवा फस्ने गरेका कारण गाउँपालिकाले यसलाई शून्यमा झार्ने लक्ष्यका साथ अभियान थाल्नुलाई सकारात्मक रुपमा लिइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि दुर्व्यसनीलाई जरैदेखि निर्मूल गर्नुपर्नेमा जोड दिए ।
गाउँपालिकाकाले गरेको प्रयास सराहनीय भएको बताउँदै उनले यस अभियानलाई अन्य स्थानीय तहले पनि अनुकरण गर्नुपर्ने उल्लेख गरे । कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले जिल्लास्थित कारागारमा रहेका कूल ७५० जना थुनुवा र कैदीमध्ये दुर्व्यसनीमा लागेका र लागुऔषध कारोवारमा संलग्नको संख्या सबै भन्दा बढी रहेको जानकारी दिए ।
रुपा गाउँपालिका–६ मा रहेको चन्द्रप्रभा माविमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यलाई सुरक्षाका बारेमा प्रशिक्षण दिँदै उनले प्रत्येक व्यक्ति, घर हुँदै समाजवाटै दुर्व्यसनी नियन्त्रण प्रयासको आवश्यकता औंल्याए ।
उनले यसका लागि प्रहरी प्रशासन सधैँ सहयोगी बन्ने बताउँदै समाजमा देखिने दुर्व्यसनी लागुऔषध कारोवारको समयमा नै सूचना दिन आग्रह गरे । गाउँपालिका, आमा समूह, विभिन्न युवा क्लब र प्रहरीको सक्रियतामा प्रत्येक वर्ष गाँजा फँडानीलाई समेत निरन्तरता दिँदै आएको छ । रासस

प्रकाशित मिति : २८ पुष २०७५, शनिबार १४:२८