सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा भर्ती हुन आएका युवकको वीभत्स हत्या

बाँके । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ । सुर्खेत सिम्ता गाउँपालिका–४ का दीपकसिंह ठकुरीको शुक्रबार राति कोहलपुर बसपार्क नजिक खुलाचौरमा हत्या भएको हो ।
बसपार्कको पूर्वपट्टी रहेको खालीचौरमा ठकुरीको शव फेला परेको छ । ‘गएरातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ,’ प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले भने, ‘धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान गर्दैछौँ ।’
ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई रु एक लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका २३ वर्षिय ठकुरी आज बिहान मृत फेला परेको र चक्कुले घाँटी रेटेर हत्या गरिएको छ । बाँया आँखामा समेत चोट लागेको छ ।
‘आधा घाटी रेटिएको छ’, बिहान घटनास्थलमा पुगेका प्रहरी नायब उपरीक्षक सिंहले भने, ‘राति २ बजेतिर हत्या भएजस्तो देखिन्छ ।’ ठकुरी कहाँ बसेका थिए, राती खुल्लाचौरमा कसरी पुगे, उनीसँग को–को थिए लगायतका कुराहरु आफूहरुले खोजी गरिरहेको प्रहरीले बताएको छ । प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २८ पुष २०७५, शनिबार १३:१६