सूचनाको शक्ति - The Power Of Information

        

‘मलाई बिपिनको जस्तो आवाज फेर्न आउँदैन’ : वर्षा राउत

काठमाडौं । मान्छेसँग काम गर्न सजिलो तर जनावरसँग काम गर्न गारो हुने रहेछ । न हामीले सम्झाउन सक्नु, न गाली गरेर तर्साउन सक्नु, उसकै टाइममा चल्नुपर्छ । ‘गोपी’मा काम गर्दा मैले यस्तो अनुभव बटुल्न पाए । काठमाडौँमा जन्मे, हुर्के बढेपनि मेरो लागि गाउँको परिवेश नौलो छैन । मेरो बाबा सिन्धुलीमा जन्मनुभएको हो, हाम्रो घर छ त्यहाँ ।
जाडो, गर्मी बिदामा म गाउँ जान्थे, त्यो बेलामा गाई देखेकै हो । हाम्रो घरतीर त अझै हान्ने भैँसी हुन्थ्यो, भैँसीको अगाडि हिँड्दा चनाखो हुनुपथ्र्योे । गोपीको सुटिङ्गमा हान्ने गाई, नहान्ने गाई छुट्याईको थियो । तर लामो सिङले नतर्साएको होइन । हामीलाई समस्या त परेन । गाईवस्तु देखेको अनि बानि अलिअलि थाहा भएकोले काम गर्न गारो भएन ।
नाई नभन्नु ल–४ बाट चलचित्र क्षेत्रमा काम गरे, अहिले सम्म थुप्रै पात्रको भूमिकामा देखिए । तर समस्या के छ भने मलाई ‘विपिन कार्की’को जस्तो आवाज परिवर्तन गर्न आउँदैन । मैले जति पनि चलचित्रमा अभिनय गरे, हरेकमा बोल्ने तरिका एकै खालको छ । ‘मिस्टर झोले’ मा अलि फरक प्रयास गरेको छु । तर अरुमा म जे हो त्यही देखिए । त्यसैले मलाई फरक लागेको छैन ।

अलि फरक महसुस गराउने भनेको पहिरन र श्रृंगार हो । मैले निभाएको पात्रमा मैले केही भिन्न देखिने कोशिस गरेको छु । ‘गोपी’सँग मेरो आशा छ । पक्का कुरा के हो भने, चलचित्रको पहिलो हाफ दर्शकलाई मन पर्यो भने दोस्रो हाफ पनि मन पर्छ । ‘जात्रा’ प्रदर्शनको दुईदिन सम्म त्यती राम्रो प्रतिक्रिया आएको थिएन तर पछि कमाई, समालोचनाको आधारमा पनि राम्रो भयो ।
यो चलचित्रबाट पनि त्यही अपेक्षा छ । मौलिक विषयवस्तु अनि देशमा केही गरौँ भन्ने दर्शकले चलचित्र मन परेन भन्नुहुन्न होला । उहाँहरुलाई प्रेरणा हुन सक्छ । प्रदर्शनको मिति आउँदै गर्दा चलचित्रले राम्रो नै गर्ला भन्ने वातावरण बनिरहेको छ । ‘यो चलचित्रलाई बाहिर कसरी देखाउने’ भन्ने जस्ता कुराहरु म सँग पनि भईरहेका छन् ।
अर्को कुरा हामीले देखाउन खोजेको कथा सुटिङ गरेको फामका मालिकसँग मिल्न आउँछ । त्यहाँको दाईले फाम घाटामा जाँदा पनि चलाइरहेको तितो अनुभव साट्नुभयो । जसले मनमा चिसो पस्छ । मैले त्यतिबेला नराम्रो अनुभूत गरे, जब लगानी गरेको सबै शून्य भएको थियो । काम छोड्न उहाँले मान्नुभएन । हामीले केही फाइदा होला, नाम होला, दाम होला भनेर नै काम गर्ने हो ।

हातमा शून्य नहुँदा पनि काम गरेको सुनाउँदा उहाँँप्रति सम्मान पनि जाग्यो । खुसी पनि लाग्यो, आफ्नो ठाउँ नै छोडेर विदेशिने युवा जमात छन्, यसरी गाई पालन गरेर, आफ्नै पौरखमा रमाउने युवा देख्दा खुसी नहुँने कुरा नै भएन । अहिले गाई पाल्ने मान्छेको कमी भएको कुरा शुद्ध दूध नपाइनुले देखाउँछ । मलाई सकेसम्म गाईको नै दूध खाउ जस्तो लाग्छ तर पाइदैन ।
गाउँमा मेरै लागि दूध भनेर भाग लगाएर पिउँदा मजा आउँथ्यो । गाउँबाट बट्टामा घ्यू पनि आउँथे तर अहिले समय परिवर्तन भएको छ । गोपीले मलाई किसानको मेहनत बुझाएको छ । जसजसले खेती गर्दै हुनुहुन्छ, तपाईलाई सम्मान छ । यत्ति भन्न चाहन्छु जस्तो भएपनि काम नछोड्नुहोस्, ढिला चाँडो फल अवश्य मिल्नेछ ।

प्रकाशित मिति : २७ पुष २०७५, शुक्रबार १४:४५