सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा ‘सपिङ्ग कम्पलेक्स र आकाशे पुल’ बन्दै, डिपिआर अन्तिम चरणमा

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको विकासका लागि दुई वटा महत्वपूर्ण योजना अघि सारेको छ । नेपालगन्जमा सपिङ्ग कम्प्लेक्स र आकाशे पुल निर्माण गर्ने योजना अघि सारेको हो । योजना निर्माणका लागि विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाले जनाएको छ ।
‘जमिनमुनि दुई तलासहित साततले सपिङ्ग कम्प्लेक्स बनाउने छौं, भव्य महलभित्र सपिङ सेन्टर, डिपार्टमेन्टल स्टोर्स, चलचित्र हल, बाल उद्यान लगायतका सबैखाले सुविधा हुनेछन्,’ नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल सम्शेर राणाले महत्वाकांक्षी योजना सुनाउँदै भने, ‘साततले कम्प्लेक्सका लागि छिट्टै विस्तृत अध्ययन परियोजना प्रतिवेदन डिपिआर तयार हुनेछ ।’
व्यावसायिक परियोजनका लागि अत्याधुनिक सुविधासहितको सपिङ्ग कम्प्लेक्स बनाउन रु.७५ करोड लागत लाग्ने अनुमान गर्दै मेयर राणाले भने, ‘डिपिआर तयार गरी चालु आर्थिक वर्षभित्रै काम सुरु गर्ने हाम्रो लक्ष्य रहेको छ । एउटै छानामूनि व्यवसायिक प्रतिष्ठान, चिल्डे«न पार्क, बैंक तथा बित्तिय संस्थाहरु सबै उपलब्ध हुनेछन् ।’
एउटै छानामूनि सबै प्रकारका सुविधा उपलब्ध गराउने गरी उपमहानगरपालिकाले सपिङ्ग कम्पलेक्स निर्माण गर्न लागेको उनले जानकारी दिए । कम्पलेक्स निर्माण गरेपछि भाडामा दिइनेछ । मेयर राणाका अनुसार अबको दुई साताभित्र यस बिषयमा अझ बिस्तृत जानकारी दिइनेछ । आमनागरिकहरुलाई पनि सपिङ्ग कम्पलेक्सका बारेमा जानकारी गराइने उनले बताए ।
एकै स्थानमा सबै सुविधा उपयोग गर्न पाइयोस् भन्ने उद्देश्यले सपिङ्ग कम्प्लेक्स निर्माण गर्न लागिएको र यो नेपालकै नमूना तथा सेवाग्राहीलाई आकर्षित गर्ने खालको हुने मेयर राणाको दावी छ । बागेश्वरी मन्दिर पूर्वतर्फ रहेको जग्गामा कम्प्लेक्स निर्माण गरिने योजनासँगै मेयर राणाले उपमहानगरको मुख्य सडकमा दुई वटा आकाशे पुल निर्माण गरिने बताए ।
उनले भने, ‘आकाशे पुल निर्माणका लागि उपमहानगरपालिकाले डिपिआर तयार गरिरहेको छ । पहिलो चरणमा बीपी चौक र धम्बोझी चोकमा आकाशे पुल निर्माण गर्नेछौं ।’ उनका अनुसार दोस्रो चरणमा अन्य चोकहरुमा आकाशे पुल निर्माण गरिनेछ । सपिङ्ग कम्प्लेक्स र आकाशे पुल निर्माणका लागि एसियाली विकास बैंकको सहयोग गर्ने भएको छ ।
‘आकाशे पुल निर्माणका लागि पनि डिपिआर बन्ने क्रममै छ,’ उनले भने, ‘सपिङ्ग कम्पलेक्स र आकाशे पुलको निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सुरु हुन्छ । यसले नेपालगन्जको पहिचान र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’ धम्बोझी चोक र बीपी चोकमा दुईवटा आकाशे पुल बनाउने गरी डिपिआर तयार भइरहेको उनले जानकारी दिए ।
‘नेपालगन्जमा अहिले करिब १० हजार अटोरिक्सा सञ्चालनमा छन् । सडकहरु साँघुरा छन् । चक्रपथ छैन । ट्राफिक व्यवस्थापनमा निकै चुनौती देखिएको छ,’ जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले भने, ‘आकाशे पुल बनाउनुको विकल्प छैन ।’ सवारी साधनको वृद्धिसँगै नेपालगन्जले बेला बेलामा ट्राफिक जामको समस्या भोग्नुपरिरहेको उनले बताए ।

 

प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार १२:०३