सूचनाको शक्ति - The Power Of Information

        

मन मिलिञ्जेल ‘प्रेम’, भाँडिएपछि ‘जबरजस्ती करणी !’

बाँके । ‘मति बिग्रेपछि खती हुन्छ’ भन्थे हो, रहेछ । बाँकेकी एक २८ वर्षे महिलाले श्रीमान् विदेशमा हुँदा बिगारेको मतिले अहिले तनाव बेहोरिकी छिन् । तीन वर्षपछि श्रीमान् विदेशबाट घरमा आए । केही दिन घरमा राम्रै थियो । डेढ महिना नपुग्दै श्रीमान् र श्रीमतीका बीचमा खटपट सुरु भयो ।
श्रीमानले शंका गरे । फोन कुराकानी र श्रीमतीको व्यवहारलाई श्रीमानले नियालिरहेका थिए । त्यसै पनि विदेशबाट आएको श्रीमान बढी नै शंकालु हुने गर्छन् । श्रीमतीको पनि ‘लागेको बानी’ के गर्नु ? परपुरुषसँगको सम्पर्क थाहा पाएपछि श्रीमानले श्रीमतीलाई घरबाट निकालिदिए । यो बीचमा कमाएको २० लाख रुपैयाँ पनि हिनामिना गरेको आरोप लगाए ।
श्रीमानको आरोपलाई खण्डन गर्दै दुई सन्तानकी आमाले सम्पर्कमा रहेका परपुरुषविरुद्ध ‘जबरजस्ती करणी’मा जाहेरी दिएकी छन् । महिलाको उजुरीपछि बाँके प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ । सम्पर्कमा रहेका भनिएका महिला र पुरुष आफन्त नै हुन् । ‘महिलाको उजुरी आएपछि हामीले ती पुरुषलाई समातेका छौं,’ कोहलपुर प्रहरीका प्रवक्ता मानबहादुर विसीले भने, ‘हामीले वास्तविकता बुझ्दै छौँ । उजुरी र पक्राउ परेका व्यक्तिको भनाई बाँझिएका छन् ।’
बाँकेमा श्रीमानले विदेशबाट पठाएको रकम हिनामिना गरेको मात्रै होइन, श्रीमान घरमा आउने बेला या आएको केही समय हुन नपाउँदै श्रीमती अर्कैतिर हिँडेको उजुरीहरु धेरै छन् । त्यसो त श्रीमतीलाई विदेश पठाएर मस्ती गर्दै बस्ने श्रीमानको पनि कमी छैन । प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन्, ‘वैदेशिक रोजगारीले राम्रो भएका धेरै छन् । घर टुक्रिएका पनि कम छैनन् । श्रीमानले विदेशमा कमाएको पैसा लिएर श्रीमती अर्कै्तिर हिडेकाको परिवार खोजतलासका लागि भन्दै प्रहरीमा आइपुग्छन् ।’

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १५:५६