सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पताल : तीन प्रदेशको ‘रिफर हब सेन्टर’

बाँके । नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल तीनवटा प्रदेशका जिल्लाबाट पठाई आउने बिरामीको विशेषज्ञ उपचार केन्द्र (हब सेन्टर) बनेको छ । यस क्षेत्रका स्वास्थ्य संस्थामा प्राथमिक उपचारका लागि आउने सडक दुर्घटना लगायत विभिन्न रोगका गम्भीर बिरामीलाई सोझै भेरी अञ्चल अस्पतालमा प्रेषण गरिने भएकाले यो हब सेन्टर बन्न पुगेको हो ।
बाँकेमै नेपालगञ्ज मेडिकल कलेजको नेपालगन्ज र कोहलपुरस्थित शिक्षण अस्पताल रहे पनि स्वास्थ्य सेवा विभागले भेरी अञ्चल अस्पताललाई मात्र आधिकारिक उपचार केन्द्रको मान्यता दिएको अस्पतालका निमित्त प्रमुख डा. रुपानन्द अधिकारीले बताए । ‘प्रादेशिक संरचनामा गएपछि भेरी अञ्चल अस्पताल खासगरी दाङ, बाँके र बर्दियाको लागि रिफर हब सेन्टर हो,’ डा अधिकारीले भने, ‘तर कर्णाली प्रदेशको सुर्खेत, सल्यान, सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरबाट समेत बिरामी यहाँ आउने गरेका छन् ।’
शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा ठूलो संख्यामा बिरामी तथा घाइतेको प्रेषण हुने भए पनि प्रशासनिक कारणका कारण सरकारले आधिकारिक हब सेन्टरको मान्यता नदिएको उनले बताए । ‘सेवा सुविधाको कुरो होइन शिक्षण अस्पतालहरु व्यवस्थित नै रहेका छन् तर प्रशासनिक जिम्मेवारीका आधारमा आधिकारिकता नभएको हुनुपर्छ,’ उनले भने । महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चिकित्सक प्रकाश शाहले रिफरल हब सेन्टर हुनका लागि विशेषज्ञ तालीम प्राप्त स्वास्थ्यकर्मी र पर्याप्त उपकरण हुनुपर्ने प्रावधान रहेको बताए ।
‘प्राथमिक उपचार त भइसकेको हुन्छ, हब सेन्टरमा बिरामी अथवा घाइतेको विशेषज्ञ उपचारको व्यवस्था हुनुपर्छ,’ डा शाहले भने, ‘सडक दुर्घटनामा परी हातखुट्टा भाँचिएका व्यक्तिहरुको विशेषज्ञ उपचार हुने ट्रमा सेन्टरको यस क्षेत्रमा आवश्यकता छ ।’ साबिकको मध्य तथा सुदूरपश्चिम क्षेत्र हालको प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ अस्पताल नरहेकाले पनि भेरी अस्पताल नेपालगन्जमा बिरामी तथा घाइते प्रेषण गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
सरकारले भेरी अञ्चल अस्पताल नेपालगन्जलाई विशेषज्ञ सेवासहितको अस्पतालमा रुपान्तरण गर्न सहमति दिएको छ । सडक दुर्घटनामा परी टाउकामा चोट लागेर भेरी अस्पताल नेपालगञ्जमा प्रेषण भएर आउने बिरामीको उपचारमा कठिनाइ हुने गरेको छ । भेरी अस्पतालमा न्यूरो सर्जन चिकित्सक नभएका कारण उनीहरुको विशेषज्ञ उपचार नहुने अवस्था रहेको छ । त्यस्ता बिरामीलाई सामान्य उपचार गरी काठमाडौँ वा लखनऊ प्रेषण गर्ने गरेको अस्पतालका निमित्त प्रमुख डा अधिकारीले जानकारी दिए । दरबन्दी रहे पनि भेरी अस्पताल डेढ दशकदेखि न्यूरो सर्जनविहीन छ ।

प्रकाशित मिति : २२ पुष २०७५, आइतवार १५:२१