बुटवल । प्रदेशसभा ५ मा प्रदेशभर मलबीऊको अभाव रहेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपाका सांसद इन्द्रप्रसाद खरेलले प्रदेशभर अहिले मलबीऊको अभाव रहेको भन्दै किसानले सहजरुपमा मलखाद पाउने ब्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘जतिबेला किसानलाई जुन मल आवश्यक पर्छ त्यतिबेला मलको कृत्रिम अभाव हुने गरेको भन्दै सहज रुपमा किसानहरुले मलखाद र बिउविजन पाउने ब्यवस्था गर्नुपर्छ,’ सांसद खरेलले भने, ‘चाहिएको बेला मलबीऊको कृत्रिम अभाव गराउने नचाहिँदा बेच्न राख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । यसका लागि प्रदेश सरकारले ठोस योजना ल्याओस् ।’
गत बिहीबारको बैठकमा पनि सांसदहरुले प्रदेशमा मलबीउको अभाव भएको विषयदेखि राजधानीको नामाकरण र स्थायी राजधानी तोक्ने बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरुले प्रदेश ५ का जिल्लाहरुमा मलको हाहाकार रहेको, प्रदेशको राजधानीको नामाकरण र स्थायी मुकाम तोक्न ढिलाई भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद रमा अर्यालले प्रदेशका सबै जनतालाई पायक पर्ने ठाउमा स्थायी राजधानी तोकिनुपर्ने माग गरिन् । उनले नदीजन्य पदार्थको ठेक्का लगाउन ढिलाइ हुँदा अबैधरुपमा त्यसको चोरी निकासी भएकोले राज्यलाई प्रत्यक्ष घाटा भएको भन्दै छिटो ठेक्का लगाउने ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।
प्रदेश सरकारका मुख्यमन्त्रीले नीति तथा कार्यक्रममा मोनो रेलको परिकल्पना अगाडि सारेको स्मरण गराउँदै सो योजना के भइरहेको छ भन्ने बिषयमा सदनलाई जानकारी गराउनसमेत अर्यालले माग गरिन् । अर्का सांसद कृष्णध्वज खड्काले प्रदेशमा अत्यधिक मात्रामा चुन ढुंगा लगायतका खानीहरु रहे पनि त्यसको ब्यवस्थितरुपमा उत्खनन र समुचित उपयोग हुन नसकेको भन्दै उचित ब्यवस्थापन गरेर लाभ लिने ब्यवस्था मिलाउन माग गरे ।
त्यसैगरी विशेष समयमा बोल्दै सांसद भुवनेश्वर चौधरीले बर्दियाको चेपाङ बस्तीको अवस्था दयनीय रहेको भन्दै सो बस्तीमा कम्तिमा गोरेटो बाटो, प्राथमीक स्वास्थ्य सेवाको ब्यवस्था मिलाउन माग गरे । सांसद दिनेश पन्थीले नवलपरासीको सुस्तामा भारतीय पक्षले नेपाली भूमि मिच्ने र नेपाली जनतालाई दुख दिदै आएको भन्दै सीमा बिवाद समाधानका लागि संघीय सरकारसँग समन्वय गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
अर्का सांसद सन्तोशकुमार पाण्डेले प्रदेशको नामाकरण र स्थान तोक्न सुझाव दिन गठित बिशेष समितिको कामप्रति टीका टिप्पणी नगरी सो विषयको टुंगो छिटो लगाउनुपर्ने भन्दै प्रदेशको नाम लुम्बिनी र राजधानी रुपन्देही राख्न माग गरे । उनले समितिले टुंगो लगाउन नसके प्रदेशसभामा मतदान गराएर भए पनि छिटो निर्णय लिनुपर्ने बताए ।
त्यसैगरी सांसद अष्टभूजा पाठकले भारतीय पक्षले रुपन्देहीको सीमा क्षेत्र मर्चवारमा बनाएको सडकका कारण त्यस क्षेत्रका जनता डुवानको समस्यामा पर्ने भन्दै समस्या समाधानको पहल गर्न माग गरे । सांसद कल्पना पाण्डेले वजेट कार्यान्वयनबारे मन्त्रालयहरुको प्रगति विवरण सार्वजनिक गर्न माग गरिन् ।
सत्यपाटी - ।