सूचनाको शक्ति - The Power Of Information

        

‘नो हर्न’ अभियानमा कडाई, १२१ कारवाहीमा

बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेले ‘नो हर्न’ घोषणालाई कार्यान्वयनमा ल्याउन कडाई गरेको छ । ‘नो हर्न’को अटेरी गर्नेलाई आर्थिक जरिवाना गर्न थालेको छ । गत १ मंसिरमा नेपालगन्जलाई ‘नो हर्न’ घोषणा गरेको ट्राफिक प्रहरीले नियम विपरित हर्न बजाउने सवारी चालकलाई १ पुसबाट कारवाहीस्वरुप आर्थिक जरिवाना गर्न सुरु गरेको हो ।
मंसिरभरि ‘नो हर्न’ सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरेको ट्राफिक प्रहरीले १ पुसदेखि आर्थिक कारवाही सुरु गरेको छ । अटेरी गरेर हर्न बजाउने चालकलाई कारवाहीस्वरुप आर्थिक जरिवाना गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए ।
उनले पुस महिनाको २० दिनमा १२१ जना सवारी चालकलाई कारवाहीस्वरुप आर्थिक जरिवाना गरिएको छ । ‘आर्थिक जरिवानाबाट २० दिनमा ६३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ,’ उनले भने । कारवाहीमा पर्ने सवैभन्दा धेरै मोटरसाइकल चालक रहेको रोकायले जानकारी दिए । उनका अनुसार १ पुसदेखि २० पुससम्म ४५ मोटरसाइकल, २५ ट्रक, कार, जिप १८, अटोरिक्सा २२ र बस ११ कारवाहीमा परेका छन् ।
कारवाहीमा पर्नेमा भारतबाट आएका मोटरसाइकल, जिप, कार, ट्रक रहेको उनले जानकारी दिए । भारतबाट आएकालाई नो हर्नको बारेमा जानकारी नभएको बताए । ‘नो हर्नको बारेमा जानकारी नहुँदा भारतबाट आउने ट्रक र मोटरसाइकल कारवाहीमा पर्ने गरेका छन्,’ रोकायले भने । उनीहरू ध्वनि प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले नगरलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको छ । ट्राफिक प्रहरीले चोकचोकमा नो हर्न संकेत राखेको छ ।
३० हजार बढी पम्प्लेट वितरण र तीनहजार बढी स्टिकर यातायातका साधनमा टाँसेको जनाएको छ । हर्न निषेधित क्षेत्रमा हर्न बजाउनेबाट ट्राफिक प्रहरीले ५०० देखि एकहजार ५०० सम्म जरिवाना गर्दै आएको रोकायले बताए । ‘सुरुवात भएकोले केही खुकुलो छ । विस्तारै कडाई गर्दै लैजाने योजना छ,’ प्रहरी निरीक्षक रोकायले भने ।

प्रकाशित मिति : २२ पुष २०७५, आइतवार ०७:३८